लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ द्वारा सिन्धुपाल्चोकका बाढी पहिरो प्रभावितहरुलाई सहयोग


अमृता के सी ( रोनी )
काठमाडौँ, असार ७। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा बाढी पहिरो प्रभावितहरुको लागि राहत प्रदान गरेको छ।सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको लगातारको वर्षा पछि मेलम्ची र इन्द्रबतिमा आएको बाढीले भौतिक संरचना सँगै धनजनको क्षतिको साथै कयौं बेघर भएका छन्।हालको विषम परिस्थितिमा राहतको लागि उक्त ठाँउबाट अपिल भैरहेको छ ।शुक्रबार लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ का डिस्ट्रिक गभर्नर टंक बहादुर श्रेष्ठ, पूर्व गभर्नर एवं हालका मल्टिपल डिस्ट्रिक- जीएसटि (ग्लोबल सर्भिस टिम) कोर्डिनेटर लायन अनन्त प्रसाद भेटुवाल, लगायत लायन्स लिडर र लायन्स सदस्यहरु राहत सामाग्री लिएर मेलम्ची पुगेका थिए।लायन्स क्लबका डिस्ट्रिक गभर्नर लायन टंकबहादुर श्रेष्ठले नगरपालिकाले अनुरोध गरे बमोजिमका सामग्रीहरु नगर उप प्रमुख भगवती नेपाललाई हस्तान्तरण गरेका थिए।लायन्स क्लबले पहिलो चरणमा केहि सहयोग गरेको र आगामी दिनमा आवश्यकता अनुसार सकेको सहयोग गर्दै जाने डिस्ट्रिक गभर्नर श्रेष्ठले जानकारी गराएका थिए ।

लायन्सका पूर्व गभर्नर भेटुवालका अनुसार “खाद्यान्न चाहिन्न ” भन्ने माग बिपतमा परेकाहरुको छ।बाढी र पहिरोको कारण मेलम्चि क्षेत्र पुर्ण रूपमा डुबानमा परेकोले घरहरू क्षतिग्रस्त साथै मानिसहरू बेपत्ता समेत भइ धनजनको क्षति भएको छ। बिपतमा परेकाहरूले बस्ने, सुत्ने, लगाउने, दैनिक आवश्यकताका सरसामान तथा ढुंगा र जालि उपलब्ध गराईदेउ भन्ने नारा सहित आन्दोलन गरेको जानकारी विश्व न्युजलाई गराए।लायन्स क्लबले हालको परिस्थितिलाई मध्य नजर गर्दै सहयोग लिएर पुन मेलम्ची जाने वाचा समेत गरेको बताए।

जहाँ आवश्यकता त्यहाँ लायन्स भन्दै सेवा भावले अघि बढेको क्लबले बिपत्तिमा परेकाहरुको लागि मास्क ५ सय थान, टुथ ब्रस ५ सय थान ,टुथ पेस्ट ५ सय थान, स्यानीटरी प्याड ५ सय प्याकेट,हात धुने साबुन ५ सय थान,बच्चाहरुको लागि १३५ जोर लुगा, बल्यांकेट १५० थान, झुल सय थान साथै २२ सय केजी तरकारी लगायतको सामाग्री हस्तान्तरण गरेको थियो।आपत बिपतको घडिमा सहयोग गरेकोमा उप प्रमुख भगवती नेपालले लायन्स क्लबलाइ धन्यवाद दिएकी थिइन् ।