प्रत्येक घडीको पलसँग
सँगै हिंडें,
जीवनको ऋतुहरूमा
तिमीलाई नै प्रेम गर्छु ।
तिमीले देख्ने सपना, र मैले देख्ने सपना भिन्न भिन्न छन् ।
वास्तवमा ,
मेरो सत्य त्यही हो
सुन्दर सपना तिमी,
सधै तिम्रो संझनामा हाँसेर,
जीबन यात्राको पाइलाहरूमा
तिमीलाई भेट्छु ।
खुशी लाग्छ,
आकाश झैं मौनतामा
सुन्दर प्रस्तुती देखेर
अलि कति पनि दुखाई छैन,
तिमीसम्म पुग्न नसक्दा नि,
टाढा दूरीको पनि अति प्रिय लाग्छ ।
त्यसैले होला,
विहानीको लाली मसम्म आइपुग्दा न्यानो अंगालोमा बाँधिएको,
रात उदाएको चन्द्रमा सित शितलताको ओढ्नेसँग गुटुमुटु
यथार्थको धरातलमा
मिठो, आनन्दको अनुभूति हुन्छ।
एउटा नयाँ उमङ्ग,
एउटा नयाँ रचना जस्तै
स्वतन्त्रको परिधिमा
म उही
मसँग तिमी,
थाहा पाई थाहा नपाई
बगेको तिमी
न्यानो, चिसो संरचना
मिठो आवाज, लाग्छ
सुनी रहूॅ म बाँचेको छु
भनेर
घडी झै टिक टिक
मनको भित्तामा
कोरिएको चित्र
शान्त ,मुर्त
बुद्ध झै
मनको गुफामा
लुकेको प्यारो मान्छे ॥
ममता कर्माचार्य
बोस्टन