लुम्बिनीमा आजबाट चल्ने भए विद्युतीय बस

काठमाडौं । लुम्बिनीमा आजबाट पाँचवटा विद्युतीय बस चल्ने भएका छन् । यी बस एसियाली विकास बैंकले अनुदानमा लुम्बिनी विकास कोषलाई दिएको थियो । तीन वर्ष अगाडी नै भित्रिएका विद्युतीय पाँचवटा बस र १४ वटा भ्यान चलाउने मोडालिटी नहुँदा अड्किएको थियो । पर्यटन मन्त्रालयले लुम्बिनी विकास कोषलाई यी सवारी हस्तान्तरण समेत गरेको थिएन । गृहमन्त्री बालकृष्ण खाँणले विश्व पर्यटन दिवसका अवसरमा मंगलबार भैरहवामा आयोजित समारोहमा विद्युतीय सवारी साधन तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएका थिए ।

ती सवारीसाधन सञ्चालन गर्न बुधबार लुम्बिनी विकास कोषसहित अन्य सरोकारवाला निकायसँग बैठक बसेर निर्णय गर्न मन्त्रीले निर्देशन दिएका थिए । निर्देशनलगत्तै रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको अध्यक्षतामा बुधबार भैरहवामा बसेको लुम्बिनी विकास कोष, स्थानीय पालिका, यातायात कार्यालय, उद्योगी तथा पर्यटन व्यवसायीका संघसंस्थाको बैठकले बिहीबारदेखि नै तत्काललाई पाँचवटा बस सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

पाँचवटा बस विभिन्न रुटमा चलाउने र आवश्यक चालक, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उपलब्ध गराउने निर्णय भएको छ । ती बसमा यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकसँग दसैंभरि शुल्क लिइने छैन । तत्कालका लागि रूपन्देहीको सीमा नाका बेलहिया, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लुम्बिनी, बुद्ध मावली स्थान रामग्रामदेखि बेलहिया हुँदै लुम्बिनी, बुटवलबाट भैरहवा हुँदै लुम्बिनी, लुम्बिनी हुँदै तिलौराकोटसम्म बस सञ्चालन हुनेछ ।