लुम्बिनीमा संस्थापन पक्ष पराजित, सभापतिमा पुन विजयी

बुटवल । नेपाली कांग्रेसको बागमति र प्रदेश एकमा संस्थापन पक्ष विजयी भएकोमा लुम्बिनी प्रदेशमा भने संस्थापन इतर समूहले बाजी मारेको छ । यहाँ संस्थापनबाहेकका अन्य नेताको समर्थनमा उठेका अमरसिंह पुन मगर विजयी भए । पुनले संस्थापन पक्षका भरतकुमार शाहलाई ८५ मतान्तरले हराएका छन् । सभापतिमा विजयी पुनले ८५२ मत पाए । शाहको पक्षमा ७६७ मात्र मत आयो । पुन पूर्व राज्यमन्त्री तथा नेपाली कांग्रेस रोल्पाका निवर्तमान सभापति हुन् ।

पदाधिकारीमा एक उपसभापति बाहेक सबै पुन प्यानलका उम्मेदवार विजयी भए । दुई उपसभापतिमा संस्थापन इतरका भुवन श्रेष्ठ (गुल्मी) र संस्थापन पक्षका राजु खनाल (दाङ)ले जिते । महामन्त्रीमा विक्रम खनाल (नवलपरासी पश्चिम) र सुरेन्द्रराज आचार्य (कपिलवस्तु)ले जिते । महिला सहमहामन्त्रीमा निमा गिरी विजयी भइन् । खुल्ला सहमहामन्त्रीमा अर्घाखाँचीका विष्णु खनाल मुस्कान र दाङका खगराज पाण्डे विजयी भएका छन् ।