लुम्बिनी प्रदेशमा नवनियुक्त जसपाका चार मन्त्रीको गयो सांसद पद

काठमाडौं । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)का चार सांसदको प्रदेशसभा सदस्य पद गएको छ । प्रदेशसभा सचिवालयले बिहीबार सूचना प्रकाशित गरी सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको जानकारी गराएको छ ।

सन्तोषकुमार रुपन्देही क्षेत्र नम्बर ३ (१) र विजयकुमार यादव बाँके क्षेत्र नम्बर २(१ं बाट प्रत्यक्ष निर्वाचित भएका थिए । सुमन र कल्पना समानुपातिक सांसद हुन् । उनीहरु मूख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेपछि मन्त्री बनेका थिए । यसकारण उनीहरुको राजनीतिक वृत्तमा व्यापक आलोचना भएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदहरुले ६ वैशाखमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । सरकारमा सहभागी भएको विषयलाई लिएर जसपामा अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुर पक्षबीच विवाद भएसँगै यहाँ जसपा फूटको संघारमा पुगेको छ ।

यादव पक्षले चार सांसदलाई स्पष्टीकरण सोधेको थियो । पछिल्लो पटक मंगलबार पनि यादव पक्षले कार्यकारिणी समितिको बैठक राखेर उनीहरुलाई कारबाही गर्न माग गरेसँगै उनीहरुको पद गएको हो ।

प्रदेशसभा सचिवालयले निकालेको सूचनामा समेत जसपा केन्द्रीय कार्यकारिणी समितिले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा (५) बमोजिम प्रदेशसभा सदस्य र पार्टी सदस्यबाट निष्काशन गरेको बताएको छ ।