लुम्बिनी प्रदेशमा बाढीको वितण्डा, दुईको मृत्यु-हजारौं घर डुबानमा

बुटवल । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा बाढी र डुबानले वितण्डा मच्याएको छ । पश्चिम नवलपरासीमा बाढी र पहिरोका कारण दुई जनाको मृत्यु भएको । एक जना बेपत्ता भएका छन् । रामग्राम नगरपालिका–१८ मा बाढीले बगाउँदा ३७ वर्षीय विनोद पासी र १३ वर्षीय प्रदिप पासीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । सुनवल नगरपालिका–४ की १३ वर्षीय एलिसा तामाङ बेपत्ता छिन् । यहाँ सदरमुकाम परासी, सुनवल, प्रतापपुर र सुस्तामा सात सयभन्दा बढी घर डुबानमा परेका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनवल, बर्दघाट र गैंडाकोटमा डाइभर्सन बगाउँदा यातायात सेवा अवरुद्ध भएको छ ।

उता, कपिलवस्तु जिल्लाको वाँणगंगा नगरपालिकामा ५० बढी घर डुबानमा परेका छन् । नगरपालिकाको ‍‍२ नम्बर वडाको कलौनी र पिपरा आसपास तथा ४ नम्बर वडाको झुगा क्षेत्रमा घर डुबानमा परेको छ । ८ नम्बर वडाको बोर्डगाउँ, बालापुर र धनेशपुर तथा ३ नम्बर वडाको गंगोलीया र बभनी क्षेत्रका घर डुबानमा परेको स्थानीय प्रशासनले जनाएको छ । ११ नम्बर वडाको ओदारी, मैरी, हथौसाका घर समेत डुबानमा परेका छन् ।

यता, महेन्द्र राजमार्गअन्तर्गत गैंडाकोटको थुम्सी जंगलमा बनाइएको डाइभर्सन बगाएपछि यातायात सेवा रोकिएको छ । थुम्सीको २३ स्मृति पुलको डाइभर्सन बिहीबार राति ८ बजे बगेको छ ।


रूपन्देहीमा बाढीले बगाएपछि एक जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । दानव नदीको बाढीले सम्मरीमाई गाउँपालिका–३ प्रिपहवाका २३ वर्षीय बब्लु लोधलाई बगाएको हो । उनको खोजी भइरहेको । जिल्लामा रोहिणी, ओमसतिया र कञ्चन गाउँपालिकाका घरहरु डुबानमा परेका छन् ।


पश्चिम नवलपरासीका झरही, तुरिया र पानभार खोलाको बाढीले २ सयभन्दा बढी घर डुबानमा परेको प्रहरीले जनाएको छ । यहाँ धानखेतसहित बालीनाली समेत डुबेको छ । जिल्लाका सुनवल, बर्दघाट, सरावल, प्रतापपुर र सुस्ता क्षेत्रमा पनि १ सयभन्दा बढी घर डुबेका छन् ।