लेक लागेर सोलुखुम्बुमा इटालियन पर्यटकको मृत्यु

काठमाडौं । नेपाल भ्रमणमा आएका एक इटालियन नागरिकको लेक लागेर सोलुखुम्बुमा ज्यान गएको छ । ज्यान गुमाउनेमा इटालीका ७४ वर्षीय मार्टिन्नो बोऋन रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक श्रेष्ठका अनुसार आइतवार जिल्लाको माप्यदूधकोशी गाउँपालिका ६ वाकुको एक घरमा खाना खाने क्रममा लाइन बस्ने क्रममा एक्कासी ढलेका बोऋनको ज्यान गएको हो ।

मोनभिसो फाउन्डेसन लाजिम्पाट काठमाडौंमार्फत सगरमाथा माध्यमिक वाकुको नवनिर्मित घेराबार उद्घाटन गर्न १८ जना गाडीमार्फत् माप्य पुगेका थिए । हिजो सोमवार घेराबार उद्घाटन गर्ने कार्यक्रम रहेको थियो । बोऋनको शव कानुनी प्रक्रिया गरी हेलिकप्टरमार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।