काठमाडौं । लेबनानमा एक नेपाली शान्ति सैनिक घाइते भएका छन् । शनिबार बिहान लेबनानको होउला गाउँमा दुई मोटर सेलले त्यहाँ कार्यरत शान्ति सैनिकलाई घाइते बनाएको थियो ।
घाइते ती सैनिकलाई युनाइटेड मिसन इन्टरिम फोर्स इन लेबनान (युनिफिल) को हेडक्वाटर नाकुरामा उपचार भइरहेको छ । युनिफिलद्वारा जारी वक्तव्यअनुसार घाइते सैनिकको अवस्था भने सामान्य छ । नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले पनि घाइते नेपाली सैनिकको अवस्था सामान्य रहेको जानकारी दिए । शान्ति सैनिकले लेबनान र इजरायलको सीमा क्षेत्रमा रहेको ‘ब्लु लाइन’ मा शान्ति स्थापनाका लागि काम गरिरहेका छन् । हमासले इजरायलमाथि अक्टोबर ७ मा आक्रमण गरेपछि इजरायलले हमास र प्यालेस्टाइनमा आक्रमण गरिरहेको छ ।
पछिल्लो समय हमासलाई सहयोग गर्ने लेबनानको अर्को सशस्त्र पार्टी हेजबुल्लाहले पनि इजरायललाई लेबनानबाट आक्रमण गर्न थालेको छ । शान्ति सैनिकको कार्य क्षेत्रमा भएको उक्त आक्रमण हेलबुल्लाह वा इजरायल कसले गरेको भन्न यकिन हुन सकेको छैन । युनिफिलले भने वक्तव्य जारी गर्दै शान्ति सैनिकमाथि भएको उक्त आक्रमणको भर्त्सना गरेको छ भने छिटो युद्धविराम गर्नका लागि पनि आह्वान गरेको छ ।