‘वंशवादी सामन्ती प्रणालीको अन्त्य गरी जनताको व्यवस्था स्थापित भएको दिन’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वंशवादी सामन्ती प्रणालीको अन्त्य गरी जनताको व्यवस्था स्थापित हुनु सामान्य नभएको बताएका छन्।
गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले संयौं वर्षदेखिको वंशवादी सामन्ती प्रणालीलाई अन्त्य गरी जनताको व्यवस्था स्थापना गरिएको घटना सामान्य नरहेको बताउँदै आजको दिनलाई ऐतिहासिक दिनका रूपमा स्मरण गर्नुपर्ने बताए। प्रधानमन्त्री प्रचण्डले गणतान्त्रिक व्यवस्था संस्थागत हुँदै गएको र यसलाई थप मजबुत बनाउन राजनीतिक दल र जनताबीच एकता र सहकार्य आवश्यक रहेको बताएका हुन्।

उनले संविधान र गणतन्त्र सर्वस्वीकार्य बन्दै जानु, मौलिक हकको कार्यान्वयनमार्फत जनताले पाउने आधारभूत सेवा सहज बन्दै जानु, सयौँ वर्षदेखि उत्पीडनमा पारिएका वर्ग, जाति, भाषा, धर्म, क्षेत्र, लिङ्ग र संस्कृतिका समुदायको अधिकार स्थापित हुँदै नेपाल राज्यप्रतिको उनीहरूको अपनत्व बलियो बन्दै जानु गणतान्त्रिक व्यवस्था संस्थागत हुँदै गएको देखिने बलिया आधार रहेको बताएका छन्।

उनले गणतन्त्र दिवसको अवसरमा जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेस आन्दोलनसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि भएका तमाम आन्दोलनमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने ज्ञात अज्ञात सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

प्रधानमन्त्रीले गणतन्त्रलाई संस्थागत गर्ने क्रममा कैयन चुनौती देखिए पनि नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई समावेशी लोकतन्त्रको अभ्यास गर्ने उत्कृष्ट व्यवस्थाका रूपमा स्थापित गर्न पहल गरिरहेको बताए।

हामी आज स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न एवं गणतान्त्रिक देशका सम्मानित र सार्वभौम नागरिक भएका छौँ, प्रधानमन्त्री प्रचण्डले भने, जनताबाट चुनिएका जनप्रतिनिधिबाट आज मुलुकको शासनप्रणाली सञ्चालित भइरहेको छ। विना भेदभाव सबै नेपालीलाई समान हक, समान अवसर र समान हैसियत प्रदान गर्ने संवैधानिक सुनिश्चितता हुनसक्नु गौरवको विषय हो ।


प्रधानमन्त्री प्रचण्डले संविधान र व्यवस्थाअनुरुप सञ्चालित सरकार लगायत सबै पक्षको ध्यान अब गणतान्त्रिक व्यवस्थाका अभिष्ट पूरा गर्नतिर केन्द्रित हुनुपर्ने र हुँदै गएको पनि बताए। उनले नागरिक हकअधिकारको पूर्ण सुनिश्चितता गर्दै छोटो समयमा मुलुकलाई आर्थिक सामाजिक रूपमा एक सबल र समुन्नत राष्ट्र बनाई जनताको जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउने सरकारको प्रयासले क्रमशः आकार लिन थालेको बताए।