काठमाडौं । वाणिज्य विभाग बबरमहलबाट ३ जना विचौलिया पक्राउ परेका छन् । काठमाडौंमा आउने सेवाग्राहीहरुलाई काम छिटो छरितो गरी दिन्छु भनी रकम माग गरी दुःख दिएको आरोपमा प्रहरी वृत्त सिंहदरबारबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर टेकुले जनाएको छ ।
पक्राउ पर्नेमा उदयपुर ताप्ली गाउँपालिका ५ घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका ९ बस्ने ५१ वर्षीय क्षेत्रबहादुर खड्का, रामेछाप नगरपालिका -९ घर भई हाल सूर्यविनायक नगरपालिका(२ बस्ने ३४ वर्षीय राज लामा र उदयपुरको ताप्ली गाउँपालिका ५ घर भई मध्यपुर ठिमी बस्ने २९ वर्षीय निरज बुढाथोकी रहेका छन् ।
पक्राउ परेका उनीहरुमाथि मुलुकी अपराध संहिता २०७४ को दफा ११८ को अभद्र व्यवहार गर्न नहुने सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ठ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त सिंहदरवारबाट थप अनुसन्धान भइरहेको प्रहरी परिसर टेकुका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालले बताए ।