काठमाडौं । दोस्रो हाफको इन्जुरी समयमको अन्तिममा प्रिती राईले गरेको उत्कृष्ट गोलमा लेवनानविरुद्ध २(१ को पुनरागमन जित निकाल्दै नेपाल साउदी अरेबियामा भइरहेको वाफ च्याम्पियनसिपको फाइनल पुगेको छ । नेपालले उपाधिका लागि साविक विजेता जोर्डनको सामना गर्ने भएको छ । जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडिययमा दोस्रो सेमिफाइनलमा नेपालले एक गोलले पछि परेको स्थितिबाट पुनरागमन जित निकाल्न सफल भयो । खेलको ३८औं मिनेटमा नेपालले आत्मघाती गोल गरेपछि लेवनानले अग्रता लिएको थियो । डिफेण्डर पुजा रानाले गोलकिपर एन्जिला तुम्बापोलाई दिएको ब्याक पास गोल हुँदा नेपाल पछि परेको थियो ।
दोस्रो हाफमा नेपालले लगातार गोल फर्काउने प्रयास गर्यो । ७६औं मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि बराबरी गोल गरिन् । जारी प्रतियोगितामा नेपालले खेलेको चारै खेलमा गोल गरेकी सावित्राको यो नवौं गोल हो । उनले पहिलो खेलमा सिरियाविरुद्ध १ गोल गरेकी थिइन् भने त्यसपछि इराकविरुद्ध ५ र प्यालेस्टाइनविरुद्ध २ गोल गरेकी थिइन् ।
निर्धारित समयमको खेल बराबरीतर्फ अग्रसर भइरहेको बेला प्रिती राईले अन्तिम समयमा गोल गर्दै जित दिलाइन् । ५ मिनेटको इन्जुरी टाइमको अन्तिममा नेपालले कर्नर पाएको थियो । कर्नर बल लेवनानका खेलाडीले क्लियर गर्न नसकेपछि पेनाल्टी बक्स बाहिर प्रितीले प्राप्त गरिन् र उनले हानेको लङ सट सीधै गोलमा परिणत भयो । पहिलो पटक वाफ च्याम्पियनसिप खेलिरहेको नेपाल अब उपाधिबाट एक कदम मात्र टाढा छ । बिहीबार उपाधी भिडन्त हुनेछ ।