वाफ वुमेन्स च्याम्पियनसिप-समूह चरणमा नेपालको क्लिन स्वीप

काठमाडौं । वाफ वुमेन्स च्याम्पियनसिपको समूह चरणमा तीन वटै खेल जित्दै नेपाल क्लिन स्वीप गर्न सफल भएको छ । स्ट्राइकर सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शन जारी रहँदा समूहको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनलाई ४–० ले हरायो । नेपाल समूह विजेता समेत बन्न सफल भएको छ । साउदी अरेबियाको जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी मैदानमा भएको खेलमा सावित्रा भण्डारीले दुई तथा रेखा पौडेल र गीता रानालले एक–एक गोल गरे ।

समूह बी मा सबै तीन खेल जितेर अपराजित रहेको नेपालले अब सेमिफाइनलमा समूह ए को उपविजेता लेवनानसँग खेल्नेछ । नेपालसँग हारेको प्यालेस्टाइनले समूह ए को विजेता जोर्डनको सामना गर्नु पर्ने भएको छ । तुलनात्मक रुपमा जोर्डन बलियो टोली हो ।


४१औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्द नेपाललाई अग्रता दिलाइन् । ५९औं मिनेटमा रेखा पौडेलले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । सावित्राले ७९औं मिनेटमा व्यक्तिगत दोस्रो तथा नेपालको लागि तेस्रो गोल गरिन् । यो प्रतियोगितामा सावित्राको यो आठौं गोल हो । उनी सर्वाधिक गोल गर्नेमा शीर्ष स्थानमा छिन् । इन्जुरी टाइममा सावित्रालाई प्यालेस्टाइनी गोलकिपरले फल गरेपछि नेपालले पेनाल्टी पायो । सावित्रालाई ह्याट्रिक गर्ने अवसर थियो । तर नेपालका लागि गीता रानाले पेनाल्टी प्रहार गर्दै गोल गरिन् ।