१७ साउन, काठमाडौं । मधेश प्रदेशको महोत्तरी जिल्लाको गोनरपुरा गाउँमा जन्मिएका विकल झा अहिले ओमानमा ‘एभियसन’ तथा ‘एयरपोर्ट म्यानेजमेन्ट’का एक स्थापित अन्तर्राष्ट्रिय विज्ञ हुन् । नयाँ–नयाँ प्रविधिका कारण तीव्र गतिमा दौडिरहेको हवाई उडड्यन क्षेत्रभित्र आफूलाई दक्ष, प्रभावकारी र सफल नेपालीका रुपमा स्थापित गर्न सक्नु आफैंमा गौरवको विषय हो । र, विकल झा त्यही गौरवको नाम हो, जसले गाउँदेखि गल्फसम्मको यात्रा संघर्ष, संकल्प र सपनाको बलमा तय गरेका छन् ।
गोनरपुराको ब्राह्मण परिवारमा जन्मिएका झाको बाल्यकाल जनकपुरको जानकीचोकमा बित्यो । आर्थिक अवस्था सीमित थियो, परिवारको मुख्य आयस्रोत कृषि नै थियो । कक्षा ६ सकिएपछि आफन्तसँग दाङको घोराही पुगे । बाल्यकालमै साथी, खेल, परिवेश सबै छोडेर अर्को नयाँ ठाउँ र परिवेशमा जाने निर्णय उनलाई सजिलो थिएन । तर, अभाव र बाध्यताले मानिसलाई समयभन्दा अगाडि बढ्न सिकाउँछ । झाले त्यही सहने, सिक्ने र अघि बढ्ने बाटो रोजे ।
आफन्त शिक्षक भएका कारणले पनि उनलाई दाङमा सहज ढंगले बस्न र पढ्न सजिलो भयो । एसएलसी दाङबाट उत्तीर्ण गरेपछि काठमाडौंको क्यापिटल कलेजबाट उनले प्लस टू अध्ययन पूरा गरे । त्यसपछि विकलको जीवनले नयाँ मोड लियो । पाइलट बन्ने बाल्यकालदेखिको सपना बोकेर उनी भारतको नयाँ दिल्लीतर्फ लागे । भारतमा सैद्धान्तिक ज्ञान लिए पनि अभ्यासमा भने नेपालबाट आएका विद्यार्थीप्रति प्राथमिकता नदिएको उनले अनुभूत गरे । त्यसैले उनले त्यहीं ब्याचलर डिग्री लिन थाले ।
नेपाल फर्किने सपना, विदेशको बाटो
सन् २००५ मा नेपालमा शिवानी एयर सुरु भएपछि उनी स्वदेश फर्किए । तर, त्यसले दीर्घकालीन करिअर सुनिश्चित गरेन । त्यसपछि उनी फिलिपिन्स पुगे, जहाँ पाइलट कोर्स पूरा गरे । त्यही समयमा उनले ब्याचलरको अध्ययन पनि पूरा गरे । थप व्यावसायिक अनुभव हासिल गरे । १९० घण्टा उडान अनुभवसहित उनले आफ्नो नयाँ करिअरका लागि मातृभूमि नै रोजे । जीवनमा अनुभव, ज्ञान र परिश्रमको त्रिकोण बनाएर अघि बढिरहेका झालाई जहाँ गए पनि मातृभूमि नेपालको मायाले तानिरहन्थ्यो । उनी सन् २०१० मा फेरि नेपाल फर्किएर काम गर्ने अठोटसहित स्वदेश फर्किए ।
नेपाल फर्किए पनि हवाई क्षेत्रभित्र कामको सन्दर्भ र अवसरको अभावले उनी फेरि विदेशिन बाध्य भए । लण्डन पुगेर उनले मास्टर इन एभियसन म्यानेजमेन्टको अध्ययन पूरा गरे । अहिले उनी ओमानस्थित ‘मोडर्न कलेज अफ बिजनेस एण्ड साइन्स’मा एभियसन र एयरपोर्ट म्यानेजमेन्टका विषयमा अध्यापन गर्छन् । साथै, ‘रिक्स म्यानेजमेन्ट’ र ‘अपरेटिङ सेफ्टी’जस्ता गहन विषयमा तालिम पनि दिन्छन् । पाइलट भइसकेकाहरुलाई उनी एभियसन व्यवस्थापन सिकाइरहेका छन् । उनी एभियसन म्यानेजमेन्टमा मास्टर्स डिग्री हासिल गर्ने पहिलो नेपाली हुन् । यो उपलब्धिले उनी न केवल आफन्त, गाउँ या क्षेत्रको मात्र होइन, सम्पूर्ण नेपाली समुदायको शीर उच्च पार्ने प्रेरणादायी पात्र बनेका छन् ।
नेपालको मधेश क्षेत्रको एउटा गाउँबाट सुरु भएको यात्रा अहिले विश्वभर फैलिएको छ । कहिले सरकारी जागिरको खोजी, कहिले कम तलबमा असन्तुष्टि, कहिले देश फर्कने मन, कहिले फेरि विदेशिनुको बाध्यता –यी सबै मोडले जीवनमा थप गहिराइ र उचाइ थपिदिएका छन् । जो अहिले अन्तर्राष्ट्रिय एभियसन क्षेत्रमा एक सशक्त र स्थापित नाम बनेका छन् ।
सरकारी जागिरको सपना
लण्डनबाट पढाइ पूरा गरेपछि पनि उनी फेरि एक पटक नेपाल फर्किएर नेपालमै काम गर्ने योजना बनाएका थिए । सरकारी सेवामा लाग्ने सोच बोकेर काठमाडौं पसेका झाले प्रयास गरे, तर त्यो सपना सफल हुन सकेन । तर, हार मान्ने स्वभाव थिएन उनको । असफलताको पीडालाई पढाइको भोकमा रूपान्तरण गरे । र, त्यसले उनलाई नेपालबाट हजारौं माइल टाढाको लण्डनसम्म पु¥याएको थियो । सन् २०१३ मा उनले एभियसन म्यानेजमेन्टमा मास्टर्स पूरा गरे । र, यिनै विकल झा यो विषयमा स्नातकोत्तर तह पूरा गर्ने पहिलो नेपाली हुन् ।
उच्च शिक्षासँगै उनी स्वदेश फर्किए । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट जागिरको प्रस्ताव पनि आयो, तर त्यो करारमा सीमित थियो– तलब करिब २०–२५ हजार रुपैयाँ मात्रै । राजधानी काठमाडौंमा न्यूनतम जीवनयापनका लागि पनि त्यो तलब अपुग हुने देखिएपछि उनी निजी क्षेत्रमा लाग्न बाध्य भए । उनले सिम्रिक एयरमा एभियसन सेफ्टी विज्ञका रुपमा काम सुरु गरे, त्यसपछि सौर्य एयरसँग जोडिए ।
अन्तर्राष्ट्रिय अवसर र फेरि विदेशको बाटो
यसैबीच सन् २०१४ मा लण्डनको एक कम्पनीमार्फत ओमानका लागि उनलाई आकर्षक जागिरको प्रस्ताव आयो । सुरुमा फ्याकल्टी मेम्बरका रुपमा बोलाइएका उनले सन् २०१५ देखि ओमान पुगेर त्यसपछि कहिल्यै पछाडि फर्किनुपरेन । उनले मात्र आफ्नो परिवारको भविष्य सुनिश्चित गरेनन्, देशको इज्जत पनि बोकिरहे ।
विकल झाको काम ओमानमा सीमित छैन । नेपालको एभियसन क्षेत्रका विषयमा उनले थुप्रै अनुसन्धान पेपरहरु प्रकाशित गरेका छन् । रसिया, यूएई, सिंगापुर लगायत दर्जनौं देशहरुमा आयोजित हवाई सुरक्षासम्बन्धी सेमिनारहरुमा उनी प्रशिक्षक तथा वक्ताका रुपमा भाग लिइसकेका छन् । अहिले उनी यही क्षेत्रको अझ गहिरो अध्ययन गर्दै विद्यावारिधि अर्थात् पीएचडी गर्ने तयारीमा रहेका छन् ।
समाजसेवामा समर्पित
ओमानको राजधानी मस्कटमा बसोवास गर्ने विकल झाको नाम आज त्यहाँको नेपाली समुदायमा मात्र होइन, सामाजिक सेवा, व्यवसाय, परोपकार र प्रवासमा नेतृत्वको पर्याय बनेको छ । एकजना सफल पाइलट, एभियसन तथा एयरपोर्ट व्यवस्थापन विज्ञ भएर पनि विकलको परिचय त्यसमा सीमित छैन । उनी आज हजारौं नेपालीको दुःखसुखको अभिभावक, संकटका बेलामा सम्झिने अनुहार र सपना साकार पार्न प्रेरणादायी पात्र भएका छन् ।
विकल झा गैरआवासीय नेपाली संघ (एनआरएनए एनसीसी ओमान)को दुई कार्यकाल अध्यक्ष भएर नेतृत्व गरिसकेका छन् । नेतृत्वसँगै उनले व्यावसायिक सफलता पनि प्राप्त गरेका छन् । ट्राभल्स सेवा तथा ओमानको निर्माण क्षेत्रमा लगानी गरेर ओमानमा व्यवसाय बिस्तार गरेका उनले आफैंलाई व्यावसायिक भूमिकामा पनि सशक्त रुपमा उभ्याएका छन् । ओमानमा सीमित व्यवसायीमध्ये झा पनि एक हुन् । गल्फका अन्य देशमा धेरै नेपालीले व्यवसायमा हात हाले पनि ओमानमा भने थोरै नेपालीले मात्रै व्यवसाय गर्छन् ।
तर, विकल झा यति मात्रै होइनन् । उनी समाजका लागि बाँच्न जान्ने व्यक्ति हुन् । ओमानमा कुनै नेपाली आपतमा परे, सम्झिने पहिलो अनुहार उनी नै हुन् । चाहे पासपोर्ट हराए, काम गर्दा दुर्घटना होस्, चाहे गम्भीर बिरामी परे– विकल बिना समाधान अधुरो देखिन्छ । हरेक नेपालीले उनलाई सम्झिन्छन् ।
जहाज चार्टर गरेर नेपालमा अक्सिजन
कोभिड महामारी विकराल बन्दै गएको थियो । नेपालमा अक्सिजन अभावले मानिसहरु ज्यान गुमाइरहेका थिए । त्यही बेला एनआरएनएको तर्फबाट विकल झाको संयोजकत्वमा ओमानबाट चार्टर्ड जहाजमार्फत अक्सिजन सिलिन्डर नेपाल पठाइयो । उनी भावुक हुँदै भन्छन्, ‘नेपाली आमाबाबु, दाजुभाइ र दिदीबहिनीहरुलाई अक्सिजन अभावमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले जुनसुकै सम्भव उपाय अपनायौं, त्यो मेरो जीवनकै स्मरणीय सेवा हो ।’
कामका लागि ओमान पुगेका नेपालीको मृत्यु भएमा शवको व्यवस्थापन तथा नेपाल पठाउने काममा पनि उनी निरन्तर खटिरहेका हुन्छन् । कामको सिलसिलामा ज्यान गुमाउने नेपालीहरुको शव व्यवस्थापन गर्ने, परिवारसँग समन्वय गरेर नेपाल पठाउने जिम्मेवारी पनि उनी आफैं लिन्छन् । नेपाली दूतावास र नेपाली समुदायसँगको समन्वयमा उनले यी परोपकारी काम गर्दै आएका छन् । यति मात्र होइन, उनले नेपालमा प्राकृतिक बिपत्ति, बाढीपहिरो, आगलागी वा अन्य संकट परेका बेला आर्थिक तथा भौतिक सहायता गर्दै आएका छन् ।
दर्जनौं विद्यालयमा आवश्यक सामग्री र संरचना निर्माणमा सहयोग गरेका छन् । नेपालमा रहेका एकल महिलाहरुलाई आत्मनिर्भर बनाउने काममा पनि उनको सहयोग उल्लेखनीय छ । यी सबै कामहरु उनले कुनै प्रचारका लागि होइन, निष्कलंक निष्ठाका साथ गरिरहेका छन् । ओमानमा ज्यान गुमाउने नेपालीका नेपालमा आश्रित परिवारका लागि पनि उनकै अगुवाइमा सहयोग गरिएको छ । ओमानमा ज्यान गुमाउने नेपालीका नेपालस्थित एकल महिलालाई स्वरोजगार बनाउनका लागि सिलाइकटाइको तालिम तथा सिलाइ मेसिन लगायतका सामग्री प्रदान गर्ने काम पनि उनकै अगुवाइमा भएको छ ।
विकलका बुबाआमा हाल जनकपुरधाममा बसोवास गर्छन् । उनी आफू भने मस्कटमा श्रीमती, दुई छोरी र एक छोरासहित बसोवास गर्छन् । परिवार र मातृभूमिबीच सन्तुलन राख्दै विकल झा ‘नेपाली हुनुको सार’लाई जीवित राखिरहेका छन् ।
मध्यपूर्वको प्रेरणाको स्रोत
विकल झाको यात्रा एउटा प्रेरणाको कथा हो । साधारण परिवार, मधेशको गाउँ, टाढाको दाङ, काठमाडौंको भीड, भारतको संघर्ष, फिलिपिन्सको अनुभव अनि ओमानको सफलता– यी सबै मिलेर उनको जीवनलाई विविधता, चुनौती र विजयको संगालो बनाएको छ । सही दिशा, मार्गदर्शन र अवसर पाइयो भने ‘गाउँले छोराहरु’ पनि अन्तर्राष्ट्रिय स्तरका विज्ञ बन्न सक्छन् भन्ने प्रमाण हुन् विकल झा ।
उनको जीवनले एउटा स्पष्ट सन्देश दिन्छ– अभाव र कठिनाइ बाधा होइनन्, बरु उचाइ चुम्ने भ¥याङ हुन् । सरकारी जागिर नपाएको पीडालाई पढाइ र प्रतिबद्धतामा बदलेर, कम तलबको असन्तुष्टिलाई अन्तर्राष्ट्रिय अवसरमा परिणत गरेर, विकल झाले आफूलाई नहिच्किचाई फरक पहिचानमा रूपान्तरण गरे । उनी एउटा यस्तो पात्र हुन् जसले नेपालको शिक्षा, अनुभव, संघर्ष र सपनालाई बोक्दै संसारमा प्रतिस्पर्धा गर्न सकिने प्रमाणित गरेका छन् ।
विकल झाको कथा केवल व्यक्तिगत सफलताको होइन, यो नेपाली आत्मा, संस्कृति र संवेदनशीलताको कथा पनि हो । यो कथा हो– विदेशमा बसेर पनि देश र जनताप्रति समर्पित रहने मनको । उनको जीवनबाट सिक्न सकिने मूल मन्त्र हो– ‘जहाँ नेपाली छन्, त्यहाँ विकल झा जस्ता नेपालीको खाँचो सदैव रहन्छ ।’ साँच्चै, ओमानमा मात्र होइन, प्रवासमा रहेका सम्पूर्ण नेपालीका लागि विकल झा भरोसा, समर्पण र सेवाको जीवित प्रतीक बनेका छन् ।