काठमाडौं । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाले कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि आफ्नो देश र छिमेकी मुलुकविरुद्ध लगाइएका यात्रा प्रतिबन्ध हटाउन माग गरेका छन् । उनले विकसित मुलुकले लगाएका यस्ता प्रतिबन्ध अनुचित भएको भन्दै तत्काल हटाउन भनेका हुन् । बीबीसीका अनुसार उनीहरुको कदमबाट आफु निराश रहेको समेत उनले बताएका छन् ।
दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध लगाउनेमा अमेरिका, युके, युरोपेली संघलगायत मुलुक मूख्य छन् । ओमिक्रोनलाई चिन्ताजनक भेरियन्ट भन्दै विकसित मुलुकले यात्रामा प्रतिवन्ध लगाएका छन् । अति उत्परिवर्तित यो भेरियन्ट यो महिनाको सुरुमा दक्षिण अफ्रिकामा पत्ता लागेको हो । त्यसबारे गत बुधवार विश्व स्वास्थ्य सङ्गठनलाई जानकारी गराइएको हो ।
दक्षिण अफ्रिकाको धेरै जनसङ्ख्या रहेको खाउतेङ प्रान्तमा विगत दुई सातामा यो भेरिअन्ट धेरै देखिएको थियो र अहिले अन्य प्रान्तमा पनि देखिएको छ। ूयात्रामा लगाइने रोकले गर्ने एउटा मात्रै काम भनेको प्रभावित देशको अर्थतन्त्रलाई थप खराब पार्ने भन्दै उनले महामारीविरुद्ध प्रतिक्रिया जनाउने क्षमतालाई कमजोर पार्ने बताए । उनले खोप अभियान बिस्तार गर्न भनेका छन् ।
ओमिक्रोन भेरियन्टले निम्त्याएको अहिलेको आपत्कालीन अवस्थालाई व्याख्या गर्दै रामापोसाले खोपको असमानताबारे विश्वलाई जागरुक गराएको र सबैलाई खोप नदिइँदासम्म थप भेरियन्ट टार्न नसकिने बताएका हुन् । दक्षिण अफ्रिका आफैँमा खोपको अभाव नभएको भन्दै राष्ट्रपतिले मानिसहरूलाई खोप लगाउन आह्वान गरेका छन्।