काठमाडौं । नेपालमा कोरोनाबाट संक्रमित तीन जना बिरामी भेटिएका छन् । त्यसमध्ये एक जनालाई निको भइसकेको छ । उनी उपचारपछि घर फर्किसकेका छन् । दुई जना भने उपचारकै क्रममा छ ।
नेपालमा तीन जनामा देखिएको कोरोना, तीनै जना विदेशबाट नेपाल आएका हुन् । जसले गर्दा हालै नेपाल फर्किएका नेपालीमा त्रास बढेको छ ।
उनीहरुमा मात्र होइन, समूदायमा समेत त्रास बढेको छ । तर, सरकारले भने विदेशबाट आउँदैमा कोरोना नहुने भन्दै नागरिकहरुलाई नआत्तिन आग्रह गरेको छ ।
अहिले विदेशबाट फर्कने नेपालीहरु सामान्य स्वास्थ्य समस्याका कारण पनि अस्पताल धाउन थालेका छन् ।
जसले गर्दा अस्पतालमा भीड बढेको छ । सरकारले भने सामान्य स्वास्थ्य समस्या आउँदैमा कोरोनाको संक्रमण नहुने भन्दै आत्तिनु नपर्ने बताएको छ ।
बिहीबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका सचिव डा. यादव कोइरालाले विदेशबाट आएकालाई नआत्तिन आग्रह गरे ।
रुघा लाग्नु, ज्वरो आउनु वा खोकी लाग्दैमा त्यो कोरोना नहुने भन्दै उनले भने सुरक्षित रुपमा आइसोलेसनमा बस्न सुझाव दिए ।
लक्षणले च्याप्दै गएमा वा नियमित उपचारबाट निको नहुने देखिएमा मात्र अस्पतालमा जान उनले सुझाव दिएका छन् ।