काठमाडौं । विदेशमा बसेका नेपालीहरुलाई लक्षित गरी मुलुकलाई विश्व डिजिटल अर्थतन्त्रसँग जोड्ने प्रयास स्वरुप एक हाइब्रिड (व्यक्तिगत उपस्थिति र प्रविधिमार्फत भेला) कार्यक्रम सम्पन्न भएको छ । वासिङ्टन डीसीस्थित नेपाली दूतावास र विश्व बैंक ग्रुपको नेपालस्थित कार्यालयले संयुक्त रुपमा आइतबार ‘कनेक्टिङ नेपाल विथ द ग्लोबल डिजिटल इकोनोमी’ (नेपाललाई विश्व डिजिटल अर्थतन्त्रसँग जोड्दै) शीर्षकमा कार्यक्रम गरेका हुन् ।
नेपालको व्यवसायमा डिजिटल र प्रविधि क्षेत्रसम्बन्धी कम्पनीहरु बढिरहेको अवस्थालाई मध्यनजर गरेर त्यस विषयमा छलफल गरिएको हो । कार्यक्रमको सुरुआतमा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले अमेरिकामा रहेका र नेपालमा रहेका प्राविधिक कम्पनीका माथिल्लो तहमा काम गर्ने पदाधिकारीहरुलाई दुई महत्त्वपूर्ण प्रश्नको जवाफ दिन आग्रह गरेका थिए । ‘तपाईँहरुलाई बोल्नको लागि हामीले ६ प्रश्नहरु पठाएका छौं । त्यसमा ४ प्रश्नहरुको उत्तर तपाईँ दिन वा नदिन पनि सक्नु हुन्छ । तर दुई प्रश्नको भने तपाईँहरुले उत्तर दिनु होला,’ राजदूत खत्रीले भने ।
दुई प्रश्नहरुमध्ये ‘सन् २०३० सम्ममा डिजिटल नेपाल कस्तो देख्नु हुन्छ ? र आगामी दुई वर्षमा आफू कार्यरत कम्पनीले नेपालको लागि के गर्न सक्छ ? भन्ने थिए । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल सरकार डिजिटल क्षेत्रको विकासमा लागिपरेको बताइन् । उनले त्यसको लागि आवश्यक सूचना तथा प्रविधि विधेयकहरु यही संसदमा पेस गर्ने बताइन् । उनले भनिन्,‘ त्यसको लागि आवश्यक गृहकार्य पनि मन्त्रालयले गरिरहेको छ ।’
यस क्रममा अर्थमन्त्री प्रकाश शरण महतले सूचना प्रविधिमा नेपालमा धेरै रुपान्तरण भइरहेको बताएका थिए । उनले यो कार्यक्रमले डायस्पोरासँग जोड्ने उल्लेख गर्दै ठूला संख्यामा विदेशमा रहेका नेपालीहरुले देशको सूचना प्रविधि क्षेत्रमा सहयोग गर्ने आशा व्यक्त गरे । ‘हाम्रो डिजिटल अर्थतन्त्र अब बढ्नुपर्छ । सरकारले नेपालमा लगानीको वातावरणलाई सहज बनाएको छ,’ उनले भने । कार्यक्रममा परराष्ट्र सचिव भरतराज पौड्याल, अर्थसचिव तोयम राय, विश्व बैंकका नेपाल प्रमुख फरिस हदाद जेर्भोस लगायतले आफ्नो भनाइ राखेका थिए ।