विदेशमा रहेका नेपालीलाई समानूपातिकमा मताधिकार दिने तयारी

काठमाडौं । नेपालले विदेशमा रहेका नेपाली नागरिकलाई समानुपातिक तर्फ मताधिकार दिने तयारी गरेको छ । निर्वाचन कानूनहरुको एकीकृत मस्यौदामा यस्तो प्रावधान गर्न लागिएको हो । विदेशमा रहेका नेपालीहरुले सम्बन्धित देशबाटै भोट हाल्न पाउने व्यवस्था एकीकृत मस्यौदामा छ । विदेशमा रहेका नेपालीहरुले समानुपातिक तर्फ मात्रै मतदान गर्न पाउने प्रस्ताव गरिएको छ ।

निर्वाचन ‘आयोगले विदेशमा रहेका मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिलाई नेपाली कुटनीतिक नियोगको सहयोगमा सोही मुलुकबाटै प्रतिनिधिसभाको समानुपातिक तर्फको निर्वाचन प्रणाली अनुसार हुने निर्वाचनमा मतदान गर्ने व्यवस्था मिलाउने’ एकीकृत ऐनको मस्यौदामा उल्लेख छ ।

कानुन बन्नुअघि नै निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली दर्ता अगाडि बढाउने भएको छ । आगामी साउन एक गतेदेखि विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली संकलन सुरु गर्ने तयारी रहेको छ । पहिलो चरणमा खाडी मुलुकहरु युनाइटेड अरब इमिरेट्स, कतार, मलेसियामा मतदाता नामावली संकलन गरिनेछ ।