विदेश जाँदा प्रहरी प्रतिवेदन अनलाइनबाटै लिन सकिने

काठमाडौं । विदेश जाँदा आवश्यक पर्ने प्रहरी प्रतिवेदन लिन अब नेपाली नागरिकले कन्सुलर सेवा विभाग धाउनु नपर्ने भएको छ । विभागका अनुसार प्रहरी प्रतिवेदनलाई सम्बन्धित व्यक्ति आफैले रंगीन स्वरुपमा प्रिण्ट गरी काठमाडौंस्थित दूताबासहरुमा पेश गर्न सक्ने भएका छन् ।

‘नेपाल प्रहरीमार्फत् जारी हुने प्रतिवेदनलाई निवेदक स्वयंले अनलाइनबाटै रंगीन प्रिण्ट गरी काठमाडौंस्थित विदेशी नियोगहरुमा यस विभागको प्रमाणीकरण विनै पेश गर्न सक्ने छन्’, विभागद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

यसबारे विभागले अघिल्लो मे ३१ मै विदेशी नियोगहरुलाई जानकारी गराएको थियो । यता, विदेशमा रहेका नेपालीले पनि अनलाइनकै प्रतिवेदन सम्बन्धित मुलुकका संस्थामा पेश गर्न सक्ने र ति संस्थाले अनलाइनमै त्यस्ता रिपोर्टको आधिकारिकता बुझ्न सक्ने बताइएको छ ।

कोरोनाभाइरस महामारीका कारण यस्तो व्यवस्था गरेको विभागको भनाइ छ ।
यसका साथै विभागले प्रमाणीकरणको समय बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म तोकेको छ । एक पटकमा २५ जनासम्मलाई मात्र सेवा दिइने पनि उसले बताएको छ ।