विदेश जानेका लागि ए-लेभलका ल्यावको मात्र परीक्षण मान्य

काठमाडौं । अब विदेश जाने यात्रुले ए-लेभल मान्यता प्राप्त प्रयोगशालाबाट मात्र कोरोना भाइरसको परीक्षण गराउनु पर्ने भएको छ । नेपालमा परीक्षण गरेर नेगेटिभ रिर्पोट बोकेर विदेश जाने यात्रुमा पुनः परीक्षणका दौरान कोरोना संक्रमण पुष्टी भएपछि सरकारले प्रयोगशालामा कडाई गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अब विदेश जानेहरूको हकमा पिसिआर परीक्षण लेभल ए प्रयोगशालाबाट मात्र गराउन निर्देशन दिइएको छ । परीक्षण गरेपछि प्रयोगशालाहरूले त्यसको जानकारी स्वास्थ्य, पराराष्ट्र, पर्यटन मन्त्रालय र कोभिड संकट व्यवस्थापन केन्द्रलाई समेत गराउनु पर्ने भएको छ ।

मन्त्रालयका अनुसार अहिले देशभर ७८ वटा प्रयोगशालामा कोरोनाको पिसिआर परीक्षण हुन्छ । यसमध्ये ३४ वटा प्रयोगशालाले लेभल ए मान्यता पाएका छन् । विदेश जाने सबै यात्रुले ३४ वटा प्रयोगशालामा मात्र परीक्षण गराउनु पर्ने छ । यी अधिकांश प्रयोगशाला सरकारी हुन् ।