काठमाडौं । सरकारले देशभर सम्पूर्ण सामुदायिक विद्यालयमा दिवा खाजाका रुपमा ‘जङ्क फुड’ दिन नपाउने नियम ल्याएको छ । राष्ट्रिय समाचार समितिका अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले सोमबार यस्तो नियम सार्वजनिक गरेको छ ।
‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ प्रकाशन गर्दै केन्द्रले सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजामा ‘जङ्क फुड’ खुवाउन नपाइने नियम ल्याएको हो ।
अब विद्यालयहरुले स्थानीयस्तरमा उत्पादन भएका खानेकुरालाई प्राथमिकतामा राखेर दिवाखाजा तयार पार्नु पर्ने छ । केन्द्रले बालबालिकालाई उपयुक्त हुने ६० प्रकारका ‘मेनु’ तयार गरी पुस्तिकामा समावेश समेत गरेका छ ।
सरकारले विद्यार्थीलाई दिवाखाजाको प्रयोजनका लागि ७ अर्ब ७२ करोड ९३ लाख ३० हजार रुपैयाँ देशभरका सामुदायिक विद्यालयमा पठाएको छ । यो रकमले २९ लाख ४० हजार ७८९ विद्यार्थीलाई विद्यालयमा दैनिक खाजा निःशुल्क खुवाइन्छ ।
सरकारले कर्णाली भेगमा प्रतिविद्यार्थी दैनिक २० रुपैयाँ र अन्य भेगका विद्यार्थीलाई १५ रुपैयाँका दरले दिवाखाजा खुवाउने गरेको छ । यसले विद्यालयमा भर्ना हुने र विद्यालयमा नियमित आउने विद्यार्थीको संख्या कायम राख्न समेत ठूलो भूमिका खेलेको छ ।