काठमाडौं । नेपालमा विद्यालय तह (कक्षा १ देखि १२ सम्म)का सबै कक्षामा अब ग्रेडिङ प्रणाली लागु हुने भएको छ । नयाँ प्रणाली अनुसार कुनै पनि विषयको परीक्षामा न्यूनतम ३५ प्रतिशत अंक प्राप्त गरेपछि मात्र विद्यार्थी उत्तिर्णं हुने छ । शिक्षा मन्त्रालयले विद्यालय शिक्षाको लेटर ग्रेडिङ निर्देशिका २०७८ मा यस्तो व्यवस्था गरेको हो ।
पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले अक्षरांकन पद्धति कार्यान्वयन कार्यविधि २०७२ खारेज गर्दै राष्ट्रिय पाठ्यक्रम पारूप २०७६ अनुरूप नयाँ लेटर ग्रेडिङ निर्देशिका लागू गरेको हो । परिष्दको अध्यक्ष शिक्षामन्त्री देवेन्द्र पौडेल छन् । अब कुनै पनि विषयको सैद्धान्तिक परीक्षामा कम्तीमा ३५ प्रतिशत र प्रयोगात्मकतर्फ ४० प्रतिशत अंक प्राप्त गर्नुपर्ने छ ।
सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत अंक प्राप्त नगरे ग्रेडसिटमा ‘नट ग्रेडिङ’ (एनजी) उल्लेख हुने छ । त्यस्तो विद्यार्थीले माथिल्लो कक्षामा भर्ना हुन नपाउने गरि मापदण्ड तय भएको छ । ३ पटकसम्म ग्रेडवृद्धि परीक्षाको अवसर मिल्ने छ । यसअघि सैद्धान्तिकतर्फको अंकमा प्रयोगात्मक अंक जोडेर मात्र विद्यार्थीको ग्रेडिङ गरिन्थ्यो ।
९ वटा तहमा विद्यार्थीको ग्रेडिङलाई वर्गीकरण हुन्थ्यो । तर अब ७ वटा तहमा मात्रै विद्यार्थीको ग्रेडिङ हुने छ । यसअघि प्रयोगात्मकको नम्बर जोडेर ३२ प्रतिशत अंक ल्याउने विद्यार्थीले पनि माथिल्लो कक्षामा पढ्न पाउँथे । एनजी तहमा परेका विद्यार्थीले माथिल्लो कक्षामा भर्ना हुन नपाए पनि प्राविधिक टी–एसईई अध्ययनबाट भने वञ्चित हुने छैनन् ।
लेटर ग्रेडिङ प्रणालीअनुसार ९० र त्यसभन्दा माथिको प्रतिशत ल्याउने विद्यार्थीको नतिजालाई सर्वोत्तम (ए प्लस) मानिनेछ । ८० र त्यसभन्दा माथि ९० भन्दा कम प्रतिशत उपलब्धि हासिल गरे ग्रेडसिटमा अत्युत्तम (ए) उल्लेख गरिनेछ ।
७० माथि ८० भन्दा कमलाई उत्कृष्ट (बी प्लस), ६० माथि ७० भन्दा कमलाई उत्तम (बी), ५० माथि ६० भन्दा कमलाई सन्तोषजनक (सी प्लस) ४० र त्यसभन्दा माथि ५० भन्दा कमलाई ग्राह्य (सी) र ३५ माथि ४० भन्दा कमलाई आधारभूत (डी) को मान्यता दिइनेछ । चालु शैक्षिक सत्रदेखि नै नयाँ निर्देशिकाअनुसार विद्यार्थीको मूल्यांकन गरिने भएको छ ।