काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८१–८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा आजदेखि छलफल सुरु हुने भएको छ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ । संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले जारी गरेको बैठकको सम्भावित कार्यसूचीमा आर्थिक वर्ष २०८१–८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (करप्रस्ताव बाहेक) छलफल हुने उल्लेख छ ।
यसअघि प्रतिनिधि सभा बैठकमा डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१–८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका पेस गरेका थिए । सत्ता समीकरण बदलिएसँगै उनी निवर्तमान अर्थमन्त्री भइसकेका छन् । सभामुख देवराज घिमिरेले फागुन २१ गतेदेखि नै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने गरी दिन तोकिएको जानकारी गराएका थिए ।
तर, सत्ता गठबन्धन परिवर्तन भई मन्त्रिपरिषद् पुनर्गठन भएपछि छलफल आजदेखि हुन लागेको हो । आजैको प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० प्रस्तुत गर्ने कार्यसूची छ ।