काठमाडौं । बुधबारसम्म बजेटको प्रतिस्थापन विधेयक पास हुनुपर्छ । तर, संसदमा विपक्षी दल एमालेको अवरोध कायम छ । यो परिस्थितीमा सत्तारुढ दलले विपक्षी एमालेलाई संसदमा पेलेरै बजेट पास गर्ने तयारी गरेका छन् । प्रतिनिधि सभाको बैठक आज बोलाइएको छ । यसअघि सभामुखले सोमबार संंसद खुलाउन सर्वदलीय बैठक बोलाएका थिए । बैठकमा एमाले नै नआएपछि छलफल बीना निष्कर्ष टुगिंएको थियो । आज बैठक दिउँसो १ बजे सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ ।
संसद सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा आफ्नो पार्टीले उठाएको माग सम्बोधन नहुँदासम्म सर्वदलीय बैठकमा सहभागी नहुने अडान राखेका कारण संसदमा आज पनि नाराबाजीकै बीच बजेट पास गरिने भएको छ ।