विपक्षी गठबन्धनको आंशका : प्रधानमन्त्रीका कारण अहिलेसम्मका उपलब्धी गुम्ने खतरा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका कारण नेपालमा अहिलेसम्म प्राप्त उपलब्धी गुम्ने खतरा रहेको भन्दै विपक्षी दलले आंशका व्यक्त गरेका छन् । विपक्षी गठबन्धनमा रहेका एमाले नेता माधव कुमार नेपालसहितका नेताले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण मुलुक गम्भीर संकटतर्फ धकेलिएको समेत बताएका हुन् ।

उनीहरुले प्रधानमन्त्रीविरुद्धको एकतामा प्रतिवद्धता समेत जनाएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले मंगलबार संयुक्त विज्ञप्ति जार्गै प्रधानमन्त्रीकै कारण अहिलेसम्म प्राप्त उपलब्धि गुम्ने खतरा रहेको बताएका हुन् ।

उनीहरुको यो भनाई अदालतको पछिल्लो फैसलापछि आएको छ । ‘प्रधानमन्त्री र सरकारले सबै निकायमा तिब्र हस्तक्षेप गर्ने, दबाब र धम्की दिने तथा संकीर्ण स्वार्थका लागि जस्तोसुकै काम पनि गर्ने बाटो अपनाएको विपक्षी गठबन्धनको भनाई छ । सोहीकारण नेपाली जनताको कष्टपूर्ण संघर्षबाट प्राप्त उपलब्धि नै गुम्ने खतरा उत्पन्न भएको विज्ञप्तीमा उल्लेख छ ।

प्रधानमन्त्रीका कारण मुलुक गम्भीर संकटतर्फ धकेलिएको समेत उनीहरुले बताएका छन् । देशलाई समृद्धितर्फ अग्रसर गराउनुको साटो प्रतिगामी पाइला चाल्ने आन्दोलनका उपलब्धि र राष्ट्रिय हितमा आघात पुर्‍याइएको आरोप समेत प्रधानमन्त्रीमाथि लगाएका छन् ।

प्रतिनिधिसभा दुई–दुई पटक विघटन, अध्यादेशद्वारा शासन सञ्चालन, संवैधानिक अंगलगायत राज्यका निकायहरुको दुरुपयोग, राजनीतिक दलहरुमा विभाजन, भ्रष्टाचार, परराष्ट्र सम्बन्ध र कूटनीतिमा विचलन र असन्तुलनले सरकारमा अकर्मन्यता र गैरजिम्मेवारीपन देखिएको विपक्षी गठबन्धनको निष्कर्ष रहेको छ ।

कोरोना संक्रमणको महामारीबाट जनतालाई सुरक्षा र राहत प्रदान गर्न सरकारको अक्षमता तथा बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक विपद् व्यवस्थापनमा पूर्वतयारीको अभाव देखिएको विपक्षी गठबन्धनको भनाई छ । स्वतन्त्र न्यायपालिकालाई धम्क्याउने र लोकतन्त्रको मूल आधार निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने दायित्व रहेको निर्वाचन आयोगलाई नियन्त्रण गर्ने षड्यन्त्र तर्फ समेत उनीहरुले खबरदारी गरेका छन् ।