विपिनको निधन नेपाली अर्थ व्यवस्थाको डरलाग्दो ऐना हो : कुलमान

३ कात्तिक, काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङले विपिन जोशीको निधन केवल एउटा दुःखद समाचार मात्र नभई नेपाली राष्ट्रिय आर्थिक व्यवस्था र प्रणालीको एउटा डरलाग्दो ऐना भएको बताएका छन् । उनी लेख्छन्, ‘एउटा यस्तो ऐना, जहाँ हाम्रा होनहार युवाका सपना, उनीहरूको भविष्य, र कहिलेकाहीँ त उनीहरूको जीवन नै हराएर जान्छ।’ आज तीन बजे विपिनको शव काठमाडौं ल्याइदैछ ।

जोशीको पार्थिव शरीर बुझ्न र श्रद्दान्जली व्यक्त गर्न दिउसो तीन बजे आफुहरु विमानस्थल जान लागेको उनले बताएका छन् । उनी भन्छन्, ‘यो खबर सुनेदेखि म स्तब्ध छु। हाम्रो एउटा होनहार युवाले अन्तर्राष्ट्रिय स्तरको अमानवीय र क्रूर हिंसाको सिकार बन्नुपर्‍यो। उहाँको अकाल निधनप्रति म गहिरो दुःख व्यक्त गर्दै हार्दिक श्रद्दान्जली व्यक्त गर्दछु । साथै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछु।’

अन्तिम त्रासदीको क्षणमा पनि विपिनले देखाएको अपूर्व साहस, बहादुरी र त्यागले अरू धेरै साथीहरूको जीवन बचाएको कुलमानको भनाई छ । विपिनको यो विरतापूर्ण कार्य उनको जीवनको सर्वोच्च विरासत समेत भएको कुलमानले उल्लेख गरे । उनी भने, ‘यसले हामी सबैलाई उहाँप्रति सदाकाल गर्वान्वित बनाइरहनेछ। उहाँ नेपाली गौरवको प्रतीकका रूपमा हामीमाझ सधैं जीवित रहनुहुनेछ।’
उनले नेपाली वर्तमान अर्थ व्यवस्थाको अन्त्य हरेक नेपालीले नेपालमै बसी स्वाभिमानपूर्वक आफ्नो सपना साकार पार्ने भविश्य देख्ने अवस्था सृजना गर्ने तर्फ हामी सवै एक भएर लाग्न समेत अपिल गरेका छन् ।