विपिन जोशीको शव नेपाल ल्याइयो, परिवारलाई हस्तान्तरण

३ कात्तिक, काठमाडौं । इजरायलमा मारिएका विपिन जोशीको पार्थिव शरीर उनको परिवारलाई बुझाइएको छ । सोमबार साँझ धनगढी विमानस्थल पुर्‍याइएको विपिनको शव नेपाली सेनाको टोलीले सम्मानसहित परिवारलाई बुझाएको हो । जोशीका दाजु किशोर जोशीसहितका आफन्तले शव बुझेका हुन्। उनको महाकाली घाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

आजै दिउँसो उनको शव नेपाल ल्याइएको थियो । उनको शव आजै कञ्चनपुरको भिमदत्तनगरपालिकास्थित घरमा लगिएको छ । कञ्चनपुरमै उनको अन्तिम दाह संस्कार गरिने छ । अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए ।

इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले विपिनको भनेर इजरायली सेनालाई शव हस्तान्तरण गरेको थियो । उनको डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएको थियो भने फरेन्सिक जाँचमा अपहरण भएताका नै मृत्यु भएको पाइएको इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरूले बताएका छन् । विपिनको शव नेपाल ल्याउनुअघि आइतबार इजरायलको राजधानी तेल अवीवस्थित खटिभा ८ को स्मारक, बेनगुरिएन विमास्थलमा श्रद्धाञ्जली दिइएको थियो । उनको शव रहेको कफिनमा नेपाली झण्डा ओढाइएको छ ।