काठमाडौं । वीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउँपालिका-११ मा तीर्थ यात्रु सवार बस र जीप एकआपसमा ठोक्किंदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य १८ जना घाइते भएका छन् । काठमाडौंबाट भारततर्फ जाँदै गरेको तीर्थ यात्रु सवार यूपी ५८३८१८१ नम्बरको बस र सिन्धुलीबाट काठमाडौंतर्फ आइरहेको ना १ ज ४२१० नम्बरको जीप एक आपसमा ठोक्किएका थिए ।
प्रहरीका अनुसार मृत्यु हुनेमा रामेछापकी ३५ वर्षीया सम्झना भुसाल र उनका ७ वर्षीय छोरा संगित भुसाल, सिन्धुलीको कमलामाई ७ का ३१ वर्षीय बिक्रम श्रेष्ठ, कमलामाई ४ का ४५ वर्षीय हरिबहादुर बल र सुनकोशी-१ की ४४ वर्षीया प्रमिला नेपाली छन् । मृत्यु हुने सबै जीपमा सवार यात्रु हुन् । घाइते हुनेमा ८ जना जीपमा सवार र १० जना बसमा सवार तीर्थ यात्री रहेका छन् । घाइतेहरुलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।
यसैबीच, गृहमन्त्री बालकृष्ण खाणले काभ्रेको रोशी गाउँपालिका ११ मा पर्ने डालावेशीमा भारतीय पर्यटक बोकेको मिनी बस र जीप ठोक्किँदा ५ जनाको मृत्यु भएको घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् । काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीलाई टेलिफोन गरेर घटनाबारे अनुसन्धान गर्न छानबिन समिति बनाउन निर्देशन दिएका हुन् ।