काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्ष विपुल पोखरेल निर्वाचित भएका छन् । केन्द्रमा काठमाडौं जिल्लाको निर्णायक भोट गणना सकिएसँगै उनी निर्वाचित भएका हुन् । तर, नुवाकोटसहित विभिन्न ५ जिल्लामा विवादका कारण मत आउन बाँकी छ । सोहीकारण औपचारिक घोषणा गरिएको छैन ।
महासंघमा पोखरेलको प्यानल नै विजयी भएको छ । सोही अनुसार महासंघको महासचिवमा रोशन पुरी निर्वाचित भएका छन् ।
ती जिल्लामा थोरै मत रहेको र काठमाडौंको मत गणना पुरा भइसक्दा पोखरेलको अग्रता २ हजार १ सयभन्दा बढीको भइसकेका कारण उनी निर्वाचित भएका हुन् । आजै औपचारिक घोषणाको तयारी समेत रहेको छ ।
पोखरेल नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस संगठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चौतारीको समर्थनमा उमेदवार बनेका हुन् ।
एमालेको ओली समूह निकट प्रेस चौतारीसहित ९ संगठनको तर्फबाट निर्मला शर्माले अध्यक्षमा दावेदारी दिएकी हुन् । गजेन्द्र बुढाथोकी स्वतन्त्र रुपमा उठेका थिए ।