विप्लवविरुद्ध राज्यको धरपकड, सर्लाहीका जिल्ला नेता मारिए, रोल्पामा ५ पक्राउ

काठमाडौं । सरकारले प्रतिवन्धित नेत्रविप्लव चन्द नेतृत्वको समूहविरुद्ध धरपकड तथा कारवाही तिब्र बनाएको छ ।

बिहीबार सर्लाहीको लालबन्दीमा प्रहरीसँगको भिडन्तमा जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएका छन् भने रोल्पाबाट ५ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिहीबार लालबन्दी नगरपालिका–१, लखनदेवी जंगलबाट मोटरसाइकलमा सिन्धुलीतर्फ जाँदै गरेका ४ जनाले प्रहरीमाथि गोली चलाएको र जवाफी कारबाहीमा सर्लाहीका जिल्ला इञ्चार्ज कुमार पौडेलको ज्यान गएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

अन्य तीन जना भने भाग्न सफल भएको थिए । पौडलको साथबाट प्रहरीलाई गोली हानिएको सिक्स एमएमको रिभल्भर बरामद भएको छ भने झोलामा थ्री नट थ्री राइफल, गोली, कटुवा पेस्तोल पनि भेटिएको बताइएको छ ।

उनका साथमा भेटिएको डायरीमा विभिन्न व्यवसायीको विवरण राखिएको र उनी पछिल्लो समय चन्दा आतंक फैलाएर रकम असुल गरिरहेको प्रहरीको दावि रहेको छ ।

प्रहरीले घटनास्थलबाट विप्लव कार्यकर्ताले प्रयोग गरेको ना २२ प ६४ नम्बरको एक र अनटेस्ट एफजेड मोटरसाइकल पनि बरामद गरिएको उल्लेख गरेको छ ।

बाग्मती नगरपालिका–२, धरहरा घर भएका ४७ वर्षीय कुमार पौडेल नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी, वैद्य समूह हुँदै विप्लव समूहमा आइपुगेका थिए । उनी चुरे भावर पार्टीमा समते आवद्ध थिए ।

उता, जिल्ला प्रहरी कार्यालय रोल्पाले नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ५ जना स्थानीय नेतालाई पक्राउ गरेको छ ।

प्रहरीले बिहीबार राति रोल्पाको माडी गाउँपालिका–२ पेदिखोलामा सुतिरहेका नेकपा गंगादेव गाउँपालिका इञ्चार्ज सन्दीप वली, माडी गाउँपालिका इञ्चार्ज स्याम बुढा, देबबहादुर वली ‘दिनेश’ र गणेश मगरलाई पक्राउ गरेको जानकारी दिएको छ ।