विप्लवसहित ३६ जनाविरुद्ध शिक्षक हत्याको अभियोगमा ज्यान मुद्दा

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका संयोजक विप्लवसहित ३६ जना नेता कार्यकर्ता विरुद्ध मोरङका शिक्षक राजेन्द्र श्रेष्ठको अपहरण तथा हत्या अभियोगमा मुद्दा दर्ता भएको छ । ‘विप्लव’, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहितका उच्च नेताविरुद्ध समेत ज्यान मुद्दा दर्ता भएको हो । सोमबार जिल्ला सरकारी वकिलको कार्यालयले विप्लवसहित ३६ जनालाई अपहरण तथा कर्तव्य ज्यानमुद्दा दर्ता गरेको जानकारी गराएको छ ।

उनीहरुमध्ये एक जना मात्र प्रतिवादी पक्राउ परेका छन् । समुहका मोरङ इञ्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विक मोरङ प्रहरीको नियन्त्रणमा छन् । उनले भने अपराध अस्वीकार गरेका छन् । पक्राउ परेका प्रतिवादी विक हातहतियार तथा खरखजना मुद्दामा सोमबार नै पुर्पक्षका लागि कारागार चलान भएका छन्।

मिक्लाजुङ–१ बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको २३ मंसिरमा हत्या भएको थियो। उनको घाँटी रेटेर विभत्स हत्या भएको हो । हत्या गरेको दिन नै नेपाल कम्युनिष्ट पार्टीको विप्लव समूहले घटनाको जिम्मेवारी लिएको थियो ।