विराटनगरमा ग्याङफाइट, एक युवकको हत्या

काठमाडौं । सोमबार राति विराटनगरमा युवाहरुको दुई समूहबीच ग्याङफाइट भएको छ । झडपमा एक जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । सोमबार राति करिब सवा १० बजे विराटनगर महानगरपालिका– २ नेपाल टेलिकमको अफिस नजिकै झडप भएको प्रहरीले बताएको छ ।

यस घटनामा कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामतको मृत्यु भएको छ । उनका साथी कटहरी–१ जमटोकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते छन् । घाइतेमध्ये रायको कोख र ढाडमा गम्भीर चोट लागेको प्रहरीले बताएको छ ।


मुख्य बजार क्षेत्रमा भएको ग्याङफाइटको विषयमा प्रहरीले घाइतेहरु अस्पताल पुगेपछि मात्रै जानकारी पाएको थियो । ग्याङफाइटका क्रममा एउटा समूह भागेको थियो । घाइतेहरुलाई बटुवाले अस्पताल पुर्‍याएका थिए ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा विराटनगर–११ का २० वर्षीय सोनु गिरी, ताप्लेजुङका १८ वर्षीय सन्तोष भनिने निमदावा शेर्पा, भोजपुरका २० वर्षीय सञ्जय गिरी र मोरङ रंगेलीका १६ वर्षीय एक बालकलाई पक्राउ गरेको छ । प्रहरीले घटनास्थलमा एउटा मोबाइल फेला परेको थियो । सोही मोबाइलबाट घटनामा संलग्नहरुसम्म पुगेको थियो ।

मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार आइतबार युवाहरुका दुई समूहबीच युवती जिस्क्याएको विषयमा विवाद भएको थियो । पक्राउ परेका पक्षकी युवतीलाई मृतक तथा घाइते पक्षका युवाहरुले जिस्क्याएको पाइएको प्रहरीको भनाइ छ । यही विषयमा आइतबार दुई समूहबीच पनि विवाद भएको थियो ।

विवादको विषयलाई लिएर सोमबार राति मृतक तथा घाइते पक्षका १२–१३ जनाको समूह बाटो ढुकेर बसेको थियो । राति अर्को समूह पनि आएपछि झडप भएको थियो । झडपका क्रममा पक्राउ परेका शेर्पाले साथमा बोकेको कैंचीले मृतक करणलाई प्रहार गरेको पाइएको प्रहरीले बताएको छ ।

कैची प्रहार गर्दा तीन जनालाई गम्भीर चोट लागेको थियो । घटनामा प्रयोग भएको कैची विराटनगर अस्पताल अगाडिको गोलबजार फार्मेसीबाट बरामद भएको प्रहरीले बताएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको र घटनामा संलग्नविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले बताएको छ ।