विश्वकपपछि फ्रान्स फर्किएका मेसीलाई ‘गार्ड अफ अनर’

काठमाडौं । विश्व विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) विशिष्ट सम्मान प्रकट गरेको छ । उसले मैदानमा मेसीलाई गार्ड अफ अनर प्रदान गरेको हो । विश्वकपपछि प्रशिक्षणमा फर्किएका मेसीलाई क्लबले यस्तो सम्मान दिएको हो । गार्ड अफ अनर सम्मानलाई खेलकुदमा विशिष्ट सम्मानमा रूपमा लिइन्छ। घरेलु मैदान सेन्ट जर्मेन ओँ लेनमा नेइमारसहित सहकर्मी खेलाडीहरुले उभिएर मेसीलाई सम्मान गरेका गरेका थिए भने खेल स्टाफ लुइस कम्पोसले उनलाई गार्ड अफ अनरको ट्रफी हस्तान्तरण गरेका थिए।

पीएसजीकै सहकर्मी खेलाडी तथा फ्रेन्च फर्वाड किलियन एम्बाप्पे भने समारोहमा अनुपस्थित भए । प्रशिक्षणमा फर्किएपछि मेसीले आफूलाई गरेको स्वागतका लागि क्लबलाई धन्यवाद दिए। कीर्तिमानी ७ पटकका बालोन डिुओर विजेता मेसीको कप्तानीमा अर्जेन्टिनाले हालै कतारमा सम्पन्न विश्वकप फाइनलमा फ्रान्सलाई हराउँदै ३६ वर्षपछि विश्वकप जितेको हो। मेसीले विश्वकपमा उत्कृष्ट खेलाडी हुँदै गोल्डेन बलसमेत जितेका थिए। मेसीले २०२३–२४ सिजन समेत पीएसजीबाटै खेल्ने भएका छन् ।