काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत सेमिफाइनलका खेल आजबाट सुरू हुँदैछन्। बुधबार बिहान पहिलो सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया भिड्दैछन् । नेपाली समय अनुसार राती पौने १ बजे खेल सुरु हुनेछ । खेल कतारको लुसेल रंगशालामा खेल हुँदैछ। बिहीबार बिहान भने साविक विजेता फ्रान्सले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ ।
पहिलो सेमिफाइनले विश्व फुटबलका सुपरस्टार लिओनल मेसीको अन्तिम इच्छाको यात्राबारे तय गर्नेछ। गत वर्ष कोपा अमेरिकाको उपाधि जितेर आफ्नो पहिलो धोको पूरा गरेका मेसी अब देशका लागि विश्वकप उचाल्न चाहन्छन् । उनको यो सपना परा गर्न अब दुई जितको खाँचो छ । त्यसकारुण सेमिफाइनल उनी र उनको टीमका लागि महत्वपूर्ण छ । गत संस्करणको उपविजेता क्रोएसियाले मेसी मात्र नभई समग्र टीमलाई रोक्ने गरी रणनीति बनाएको बताएको छ ।
विशेषगरी मिडफिल्डरहरू अर्जेन्टिनालाई चुनौती दिन सक्षम छन् । कीर्तिमानी सात पटक बालन डि’अर अवार्ड हात पारेका मेसीले अब विश्वकप जित्ने अन्तिम मौका भएको स्वयमले पनि बताउँदै आएका छन्। अर्जेन्टिनाले पछिल्लो पटक ३६ वर्षअघि सन् १९८६ मा म्याराडोनाको प्रभावशाली खेलमा विश्वकप जितेको थियो। सन् २०१४ मा अर्जेन्टिनाका लागि उपाधि जित्ने अवसर आएको थियो।
तर फाइनलमा जर्मनीसँग पराजित हुँदा मेसी र अर्जेन्टिनाको सपना पुरा हुन सकेन । क्रोएसियाका लागि पनि यसपटक सन् २०१८ को पीडा भुलाउने अवसर आएको छ। २०१८ को रसिया विश्वकपमा फाइनल पुगेर फ्रान्ससँग पराजित भएको पीडा उनीहरूले यस पटक बिर्साउन सक्छन् । ३७ वर्षीय मिडफिल्डर लुका मोड्रिकको नेतृत्वमा क्रोएसियाले मिडफिल्डमा उत्कृष्ट फुटबल खेलिरहेको छ।