विश्वकप : आज पोर्चुगल-मोरक्को तथा इङ्ल्याण्ड-फ्रान्स भिड्दै

fifa

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ मा आज दुई क्वाटरफाइनल खेल हुँदैछन् । पहिलो खेल पोर्चुगल र मोरक्को भिड्नेछन् । यो खेल राति पौने ९ बजे अल थुमामा स्टेडियममा हुनेछ । दोस्रो खेलमा अल बायत स्टेडियममा राती पौने १ बजे हुनेछ । जसमा फ्रान्सले इङ्ल्याण्डको सामना गर्दैछ । आजको खेलपछि सेमिफाइनलमा पुग्ने चारवटै टोलीको टुङ्गो लाग्छ । जारी विश्वकपमा मोरक्को अपराजित टोली हो ।

बेल्जियम र क्रोएसियासहितको टीमबाट समूह विजेता बन्दै अघि बढेको मोरक्कोले अन्तिम १६ मा पूर्वविजेता स्पेनलाई हराएको हो । मोरक्को पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा पुगेको हो । मोरक्कोले अन्तिम १६ मा मोरक्कोले पूर्व विजेता स्पेनलाई पेनाल्टीसुटआउटमा ३–० ले हराएको हो । पोर्चुगललाई पनि स्तब्ध पार्दै मोरक्को विश्वकपको इतिहासमा सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन टिम बन्ने लक्ष्यमा छ । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले अहिलेसम्म विश्वकप जितेको छैन ।


पोर्चुगल १६ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा पुगेको हो । सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा सेमिफाइनल पुगेको पोर्चुगल १६ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो । २०१० र २०१८ मा अन्तिम १६ बाटै आउट भएको पोर्चुगल २०१४ मा समूह चरणबाटै बाहिरिएको थियो ।


उता, जारी विश्वकपमा अपराजित चार टिममध्ये इंग्ल्याण्ड पनि एक हो । १९६६ मा एक पटक विश्वकप जितेको इंग्ल्याण्ड त्यसयता फाइनलसम्म पनि पुग्न सकेको छैन । इंग्ल्याण्ड ५६ वर्षपछि विश्वकप उपाधि घर ल्याउने लक्ष्यसहित कतार पुगेको छ । तर चार वर्षअघि सेमिफाइनलमा पराजित भएको इंग्ल्याण्डले यस पटक साविक विजेता फ्रान्ससँग क्वाटरफाइनलमा भिड्नु पर्नेछ । समूह चरणमा दुई जित र एक बराबरीको नतिजासहित इंग्ल्याण्ड समूह बी को विजेता बनेको थियो ।

अन्तिम १६ मा सेनेगललाई ३–० ले हराएर इंग्ल्याण्ड अगाडी बढेको हो । साविक विजेता फ्रान्स कतार विश्वकपमा उपाधि दाबेदार मध्ये एक हो । किलियन एमबाप्पे ५ गोल गर्दै सर्वाधिक गोल गर्नेमा अगाडि छन् । फ्रान्सले समूह डी मा सुरुवाती दुई खेल जित्दै अन्तिम १६ मा स्थान पक्का गर्दा अन्तिम खेलमा हार बेहोरेको थियो ।