विश्वकप क्रिकेटमा आज हेभिवेट प्रतिस्पर्धा, भारत र पाकिस्तान भिड्दै

काठमाडौं । अष्ट्रेलियामा जारी आईसिसी पुरूष टी–२० विश्वकप क्रिकेटमा आज चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तान र भारत भिड्दैछन् । क्रिकेटमा यी दुई बीचको खेल केवल खेलका रुपमा मात्र रहँदैन, यसले विश्वभर दुई खेमा सिर्जना गर्छ । मेलबर्नमा हुने खेललाई मौसमले प्रभाव पार्नसक्ने अनुमानका बीच दुई टीम पहिलो खेल आफ्नो पक्षमा पार्ने तयारीमा छन् । भारत र पाकिस्तानबीचको खेल हुने समयमा ७०–८० प्रतिशतसम्म पानी पर्ने सम्भावना रहेको छ ।

यी दुई टोलीबीच गत वर्ष युएईमा भएको टी–२० विश्वकपमा पाकिस्तानले पहिलोपटक भारतलाई दश विकेट हराएको थियो। अहिलेसम्म अन्तर्राष्ट्रिय टी–२० खेलमा भारत र पाकिस्तानले एकआपसमा ११ खेल खेलेका छन् । जसमा भारतले सात र पाकिस्तानले तीन खेलमा जित निकालेको छ । एक खेल टाई भएको छ । पाकिस्तानले भारतलाई एकदिवसीय विश्वकपमा हराउन सकेको छैन।