काठमाडौं । सन् २०२० मा आयोजना हुने आइसीसी टी २० विश्वकपका लागि छनोट प्रतियोगिताको एसिया फाइनलमा नेपालले मलेसियालाई पराजित गरेको छ ।
प्रतियोगिताको पहिलो खेल कतारसँग हारेको नेपालले दोस्रो खेलमा मलेसियालाई हराएको हो ।
बुधबार सिंगापुरमा सम्पन्न खेल पानीले प्रभावित भएको थियो । २० ओभरको खेललाई ९ ओभरमा झारेर खेलाइएको थियो ।
कप्तान ज्ञानेन्द्र मल्ल चम्किएपछि नेपालले आइसीसी टी २० विश्वकप क्वालिफायर एसिया फाइनलमा मलेसियालाई ७ विकेटले पराजित गरेको हो ।
ज्ञानेन्द्रको २० बलमै अर्धशतक बनाउँदै विश्वकपको सम्भावना जिवित नै राखेका हुन् ।
नियमित कप्तान पारस खड्का घाइते भएपछि उनलाई टोलीको जिम्मेवारी दिइएको हो । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले मलेसियालाई ९ ओभरमा ८३ रन बनाउँदा रोक्न सक्यो ।
त्यतिन्जेल मलेसियाको ७ विकेट गुमेको थियो । ८४ रनको लक्ष्य नेपालले ८ ओभर खेल्दै ३ विकेट गुमाएर पूरा गर्यो ।
ज्ञानेन्द्र र प्रदिप ऐरी बुधबार प्रारम्भ मै मैदानमा उत्रिए । यी दुई खेलाडी बीच पहिलो विकेटका लागि ६६ रनको साझेदारी भयो ।
यसले नेपालको जीतको आधार खडा भएको थियो । अब नेपालले तेस्रो खेल कुवेतसँग शनिबार खेल्नेछ ।
५ टोली सहभागी प्रतियोगिताको शीर्ष स्थानमा रहने टोली विश्वकप छनोटको अर्को चरणमा पुग्नेछ ।