विश्वकप छनोटमा पुग्न नेपाल र यूएई आज भिड्दै, विजेता टोली छानिने

काठमाडौं । नेपाली क्रिकेट टिमले शुक्रबार युएईसँग महत्वपूर्ण खेल खेल्न मैदान उत्रिदैछ । यो खेल जितेमा नेपाल टी २० विश्वकपमा पुग्नेछ । पराजित भएको अवस्थामा यूएईले विश्वकपको टिकट काट्ने छ । घरेलु मैदानमा भइरहेको आईसीसी टी २० विश्वकप एसिया छनोटमा समूह चरणको अन्तिम खेलमा ओमानसँग ५ रनले पराजित भएपछि सेमिफाइनलमा युएईसँग खेल्नुपरेको हो।

समूह ‘ए’ मा ओमान सबै ३ खेल जितेर विजेता बन्दा नेपाल दुई जित र एक हारको नतिजा सहित समूह उपविजेता बन्यो । उता युएई समूह ‘बी’ का तीन वटै खेल जितेर समूह विजेता बन्यो । नेपालसामु ओमानलाई हराउँदै सेमिफाइनलमा युएईलाई छल्ने र बहराइनसँग खेल्ने अवसर थियो । तर ओमानसँग अन्तिममा चुक्दा युएईसँग खेल्ने समीकरण बनेको हो ।

नेपालले सेमिफाइनल खेल मुलपानी क्रिकेट मैदानमा खेल्नुपर्नेछ । ओमान र बहराइन बीचको सेमिफाइनल टीयू मैदानमा हुनेछ । २१ महिनाअघि ओमानको मस्कटमा नेपाल र युएईबीच टी२० विश्वकप छनोटको सेमिफाइनमा भेट हुँदा युएईले बाजी मार्दै विश्वकपमा छनोट भएको थियो । ८ महिनाअघि नेपालले कीर्तिपुरमा युएईलाई विश्वकप लिग टु को खेलमा हराएर विश्वकप छनोटमा पुगेको थियो । त्यसपछि ६ महिनाअघि टीयू मैदानमै नेपालले युएईलाई एसीसी प्रिमियर कप फाइनलमा हराएर एसिया कप खेल्यो ।

एक साता अघि मात्रै नेपाल र युएईबीचको त्रिकोणात्मक शृंखलामा फाइनल भयो जहाँ युएई विजयी भयो । अब एउटा अर्को महत्वपूर्ण खेलको नजिक आइपुगेको छ । यहाँबाट एक टिमले मात्र अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी २० विश्वकपको टिकट काट्नेछ ।