काठमाडौं । अर्को वर्ष हुने आईसीसी टी–२० विश्वकपमा स्थान पक्का गरिसकेको घरेलु टोली नेपाल र ओमान एसिया क्षेत्र छनोटको उपाधिका लागि आज फाइनल खेल्दैछन् । खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ ।
शुक्रबार भएको सेमिफाइनलमा नेपालले यूएईलाई ८ विकेट र ओमानले बहराइनलाई १० विकेटले पराजित गर्दै वेष्ट इन्डिज र अमेरिकामा आगामी जुनमा हुने टी–२० विश्वकपमा स्थान बनाएका हुन् । उक्त विश्वकपमा कुल २० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
यसपटक ग्लोबल क्वालिफायरको सट्टा क्षेत्रीय छनोट प्रतियोगिताहरु मात्र आयोजना हुँदा एसियाबाट दुई टोलीले मात्र टी(२० विश्वकपमा छनोट हुने प्रावधान थियो । त्यसका लागि एसिया छनोटको सेमिफाइनल जित्दै फाइनल पुग्ने टिम मात्र छनोट भएका हुन् ।
गत वर्ष ओमानमै भएको टी–२० विश्वकपको ग्लोबल क्वालिफायर्समा नेपाल र ओमान दुवै सेमिफाइनलम पराजित हुँदै विश्वकपमा पुग्न असफल भएका थिए । यसपटक घरेलु मैदानबाटै विश्वकपको यात्रा तय गर्दा नेपालले गत वर्ष सेमिफाइनलमै यूएईसँग बेहोरेको हारको मिठो बदला लियो । २०१४ मा बंगलादेशमा टी–२० विश्वकप खेलेको नेपालले एक दशकपछि फेरि विश्वकपमा स्थान बनाएको हो । उता ओमान भने २०२१ पछि टी–२० विश्वकपमा छनोट भएको हो ।
यस पटक एसिया छनोटमा नेपाल र ओमान एउटै समूहमा थिए । समूह ए मा रहेका यी दुई टोलीबीच रोमाञ्चक खेल हुँदा नेपाल ओमानसँग ५ रनले पराजित भएको थियो । फाइनलसम्म आइपुग्दा ओमान अपराजित छ ।