दुई विश्व विजेता टाीले स्पेन र जर्मनीलाई समूह चरणमा हराएको जापान अन्तिम १६ मा पुगेको छ । सनसनीपूर्ण खेलमा स्पेनमाथि २–१ गोलअन्तरको जित निकाल्दै एसियाली महारथी जापान समूह विजेता समेत बन्यो । स्पेनसँग पछि परेको स्थितिलाई उल्टाएर जित निकाल्दा जापान समूह ई को विजेतासमेत बन्यो । समूहमा पूर्व विश्व च्याम्पियनहरु स्पेन र जर्मनी दुवैलाई हराएको जापानले कोष्टारिकासँग हार बेहोरेको थियो ।
६ अंकसहित समूह विजेता बनेको जापानले समूह एफको उपविजेता क्रोएसियासँग क्वाटरफाइनल प्रवेशका लागि खेल्नेछ । उपविजेता स्पेनले भने सो समूहको विजेता मोरक्कोसँग खेल्नेछ । खालिफा अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलको ११औं मिनेटमै अल्भारो मोराटाले गरेको गोलबाट पछि परेको जापान पहिलो हाफमा पूर्णतया स्पेनको छायाँमै थियो । दोस्रो हाफमा स्पेनको टिकिटाकामाथि हावी देखिएको जापानले सुरुवाती ६ मिनेटमै २ गोल फर्काउन सक्यो । ४८औं मिनेटमा रित्सु डोआन र त्यसको तीन मिनेटपछि आओ तानाकाले गोल गरेपछि जापान खेलमा फर्कियो ।