काठमाडौं । विश्वकप फुटबलको एक महिना लामो महामेला आज समापन हुँदैछ । आज तेस्रो पटक च्याम्पियन बन्ने लक्ष्यसहित फ्रान्स र अर्जेन्टिना आइतबार लुसेल आइकोनिक स्टेडियममा प्रतिस्पर्धा गर्दैछन् । यो खेलको विजेताले कतारमा जारी २२औं संस्करणको फिफा विश्वकपको उपाधि जित्नेछ । लिओनल मेसीका लागि विश्वकपको यो सम्भवतः अन्तिम खेल हो ।
३५ वर्षिय महान फुटबलरका लागि आज विश्व च्याम्पियन बन्ने अन्तिम मौका समेत आएको छ । उता, उनको यो यात्रालाई रोक्ने प्रयासमा हुनेछन्, २३ वर्षीय किलिएन एमबाप्पे । उनी लगातार दोस्रो पटक विश्वकप जित्ने अभियानमा छन् । अर्जेन्टिनाले विश्वकप जितेमा यो ३६ वर्षपछिको उपाधि हुनेछ । मेसीले पनि विश्वकप जित्दै विश्वकपमा सुखद बिदाइ पाउनेछन् । अर्को पहिलो खेल हारेर पनि च्याम्पियन बन्ने टिम हुनेछ अर्जेन्टिना । यस्तो नतिजा सन् २०१० मा स्पेनले निकालेको थियो ।
फ्रान्सले जितेमा ६० वर्षपछि लगातार दुई पटक विश्वकप जित्ने पहिलो र समग्रमा तेस्रो टिम बन्नेछ । यसअघि ब्राजिलले पछिल्लो पटक १९६२ मा यो उपलब्धि हासिल गरेको थियो भने इटलीले १९३४ र १९३८ मा लगातार जितेको थियो । यस्तै एमबाप्पे २४ वर्षअघि नै लगातार विश्वकप जित्ने पेलेपछि पहिलो खेलाडी बन्नेछन् । यस्तै ह्युगो लोरिस दुई विश्वकप जित्ने पहिलो कप्तान बन्नेछन् । प्रशिक्षक डिडिएर डेसच्याम्प्स प्रशिक्षकका रुपमा दुई विश्वकप जित्ने पहिलो प्रशिक्षक हुनेछन् ।
साविक विजेता फ्रान्सले पछिल्ला ७ विश्वकपमा फाइनल खेल्न लागेको यो चौथो पटक हो । सन् १९९८ मा घरेलु मैदानमै पहिलो पटक विश्वकप जितेको फ्रान्स २००६ मा उपविजेता बनेको थियो भने २०१८ मा दोस्रो पटक च्याम्पियन बनेको थियो । दुई पटकै अर्जेन्टिनाले १९७८ र १९८६ मा उपाधि जितेको थियो । मेसीको नेतृत्वमा दोस्रो पटक फाइनल पुगेको अर्जेन्टिना ३६ वर्षपछि विश्वकप उपाधि जित्ने लक्ष्यमा छ ।
१९८६ मा डिएगो म्याराडोनाले एकल प्रयासमा अर्जेन्टिनालाई च्याम्पियन बनाएयता दुई पटक फाइनल पुगेर पनि अर्जेन्टिना पराजित भएको थियो । मेसीको अन्तिम विश्वकप जित्नका लागि अर्जेन्टाइन टिम अहिले एकजुट भएको छ । पछिल्लो पटक २०१४ मा फाइनल पुगे पनि लिओनल मेसीको अर्जेन्टिना फाइनलमा जर्मनीसँग अतिरिक्त समयमा पराजित भएको थियो ।