काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले विश्वासको मत लिन चाहेपछि आज ५ बजेपछि प्रतिनिधिसभाको दोस्रो बैठक बस्यो । त्यसपछि सभामुख अग्नी सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधनसहित विश्वासको मत माग्न समय दिए । सो क्रममा देउवाले आफु महामारी नियन्त्रणमा केन्द्रित हुने र जनताको जिउज्यान जोगाउन लाग्ने बताए ।
आफ्नो नियुक्ति संविधान बमोजिम भएको भन्दै यसको रक्षामा लाग्ने उनको प्रतिवद्धता थियो । उनले विश्वासको मत मागेपछि सभामुखले एमाले नेता प्रदीप ज्ञवालीलाई बोल्न समय दिए । त्यतिन्जेल संसदमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएका थिएनन् ।
सम्बोधनमा ज्ञवालीले ओलीको भरपुर प्रसंशा गरे । त्यसक्रममा उनले न्यायाधिशहरुलाई श्रीमान ५ हरुले गलत व्याख्या गरि आदेश गरेको सम्म आरोप लगाए । उनले आफुहरु युद्धमा हारेर बाध्यभई सम्झौता गर्न नआएको भन्दै कटाक्ष गरे । त्यसक्रममा उनले केपी सरकारले सगरमाथाको उचाई बढाउने देखि चुच्चे नक्सा ल्याएर ऐतिहासिक काम गरेको बताए ।
त्यसपछि सभामुखले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई रोष्ट्रमको जिम्मा दिए । उनले निकै परिपक्क भाषण गरे । संविधान जोगाउन गरेको प्रयासदेखि प्रदीप ज्ञवालीले गरेका कुतर्कहरुको उनले एक एक जवाफ दिए । युद्धको सन्दर्भमा अलि आक्रामक बनेका उनले आगोलाई नचलाउन र यसलाई विकासको काममा लगाउन सुझाव दिए ।
विगतमा सबै पार्टीको पृष्ठभूमि युद्ध भएपनि सबैले त्यसलाई बिर्सिएर माओवादीको थाप्लोमा मात्र युद्धको पगरी गुथाउने गरेकोमा उनको आपत्ति थियो । माओवादी युद्ध नभएको भए वर्तमान राजनीतिक परिवर्तन असम्भव रहेको भन्दै अहिलेको संविधानलाई राजा महाराजासहितको २०४७ सालको संविधान जस्तै नठान्न समेत आह्वान गरे । उनको ओझिलो र तर्कपूर्ण भाषणले ज्ञवालीका तर्कहरु काटेको थियो ।
त्यसपछि सभामुखले जसपाका अध्यक्ष महन्त ठाकुरसहित अन्य सत्तारुढ दलका नेतालाई बोल्न दिएसँगै बहस सकिएको थियो ।