विश्व व्यापार र लगानीमा दबाब, वृद्धि २.६ प्रतिशतमा सीमित

File : Containers are seen at the port in Shanghai on October 13, 2025. China's exports to the United States jumped more than eight percent in September from the previous month, official data showed on October 13, following days of worsening trade tensions between the world's top two economies. (Photo by AFP) / China OUT

जेनेभा, १८ मङ्सिर (रासस–सिन्ह्वा) । विश्व अर्थतन्त्रको वृद्धि सन् २०२५ मा २.६ प्रतिशतमा झर्ने अनुमान गरिएको छ, जुन सन् २०२४ को २.९ प्रतिशतभन्दा कम हो । बढ़्दो वित्तीय अस्थिरता र भू–राजनीतिक तनावले व्यापार तथा लगानीमा परेको प्रभावका कारण यस वर्ष वृद्धि सुस्तिने संयुक्त राष्ट्रसङ्घको व्यापार तथा विकास सम्मेलन (युन्क्टाड) ले मङ्गलबार जारी गरेको प्रतिवेदनमा उल्लेख छ । युन्क्टाडको व्यापार तथा विकास प्रतिवेदन सन् २०२५ अनुसार, वित्तीय बजारमा हुने उतार–चढावले विश्व व्यापारलाई वास्तविक आर्थिक गतिविधिले जत्तिकै प्रभाव पार्ने भएकाले विकासशील तथा विकसित दुवै अर्थतन्त्रका सम्भावित अवसरमा सीमितता देखिएको छ ।

प्रतिवेदनले कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता नयाँ प्रविधिबाट केही लाभ भए पनि सन् २०२६ मा पनि विश्व वृद्धि २.६ प्रतिशतमै रहने सम्भावना रहेको बताएको छ । युन्क्टाडका अनुसार प्रस्तुत गरिएको अनुमान बजार विनिमय दरलाई आधार बनाएर गरिएको हो, जबकि ओइसीडीले उपयोग गर्ने क्रयशक्ति समता आधारित मापनले विश्व वृद्धि दर त्यसभन्दा केही उच्च देखाउँछ । ओइसीडीले पनि सन् २०२५ मा ३.२ प्रतिशत आर्थिक वृद्धि २०२६ मा २.९ प्रतिशतमा झर्ने अनुमान गरेको छ ।

युन्क्टाडकी महासचिव रेबेका ग्रिन्स्पानका अनुसार वित्तीय अवस्थाले अहिले विश्व व्यापारको दिशा निर्धारण गर्ने मुख्य कारकको रूपमा काम गरिरहेको छ । “व्यापार केवल आपूर्तिकर्ताहरूको जालो मात्रै होइनस यो ऋण, भुक्तानी प्रणाली, मुद्रा बजार र पूँजी प्रवाहको जटिल संरचना पनि हो,” उहाँले भन्नुभयो ।
प्रतिवेदनले सन् २०२५ मा विकासोन्मुख अर्थतन्त्रहरू ४।३ प्रतिशतले विस्तार हुने देखाएको छ, जुन विकसित अर्थतन्त्रको तुलनामा धेरै उच्च हो ।


तर, उच्च ऋण लागत, पूँजी प्रवाहमा अचानक हुने उतार–चढाव, तथा जलवायुसम्बन्धी जोखिमले विकासोन्मुख अर्थतन्त्रलाई आवश्यक वित्तीय क्षमता तथा लगानी विस्तारको अवसरमा बाधा पु¥याइरहेको उल्लेख गरिएको छ । साना वित्तीय बजार भएका धेरै देशहरूले ७ देखि ११ प्रतिशतसम्मको महँगो ब्याजदरमा बाह्य ऋण लिनुपर्ने बाध्यता छ, जबकि प्रमुख विकसित अर्थतन्त्रले एक देखि चार प्रतिशत ब्याजमै ऋण पाउँछन् ।

चरम मौसमका घटनाबाट बारम्बार प्रभावित हुने देशहरूले हरेक वर्ष करिब २० अर्ब बराबर बढी ब्याज तिर्नुपरेको अनुमानले जलवायु जोखिमले वित्तीय दबाब झनै बढाएको प्रतिवेदनले बताएको छ । युन्क्टाडले वित्तीय जोखिम घटाउने, स्थिरता बढाउने र व्यापार, वित्त तथा विकासबीचको तालमेल मजबुत पार्ने उद्देश्यसहित सुधारहरूको विस्तृत श्रृङ्खला अघि सारेको छ । यीमा व्यापार नियम अद्यावधिक गर्ने, तथ्याङ्क पहुँच विस्तार गर्ने, अन्तर्राष्ट्रिय मुद्रा संरचना सुधार गर्ने तथा पूँजी बजार विकास गर्ने जस्ता कदम समावेश छन् ।