काठमाडौं । अर्जेन्टिनाले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट बाहिरिने घोषणा गरेको छ । अर्जेन्टिनाका राष्ट्रपतिका प्रवक्ता म्यानुएल एडोर्नीले निर्णयको घोषणा गरेको सिएनएनले जनाएको छ । “राष्ट्रपति जेभियर मिलेईले विदेश मन्त्री गेरार्डो वर्थेनलाई विश्व स्वास्थ्य सङ्गठनमा अर्जेन्टिनाको सहभागिता फिर्ता लिन निर्देशन दिएका हुन् ।
एडोर्नीले अर्जेन्टिनाको निर्णयलाई ‘स्वास्थ्य व्यवस्थापनसम्बन्धी गहिरो मतभेदहरू, विशेष गरी महामारीको समयमा मानव इतिहासको सबैभन्दा लामो लकडाउन र केही राज्यहरूको राजनीतिक प्रभावको सामना गर्न स्वतन्त्रताको कमिमा पुर्याएको तर्क गरे । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओबाट अमेरिकालाई फिर्ता लिने घोषणा गर्दै कार्यकारी आदेशमा हस्ताक्षर गरेको केही हप्तापछि यो घोषणा आएको हो ।
पछि जारी गरिएको वक्तव्यमा अर्जेन्टिनाका राष्ट्रपति कार्यालयले डब्लुएचओलाई कोभिड–१९ महामारीको समयमा ‘ (अन्तहीन क्वारेन्टाइनलाई बढावा दिएर)’ आर्थिक क्षति पुर्याएको आरोप लगाएको छ । वक्तव्यमा भनिएको छ, “अन्तर्राष्ट्रिय समुदायबाट यो पुनर्विचार गर्न जरुरी छ कि किन सबैले वित्त पोषण गरेका अन्तर्राष्ट्रिय सङ्गठनहरू अस्तित्वमा छन्, जसले आफू सिर्जना गरिएका उद्देश्यहरू पूरा गर्दैनन्, अन्तर्राष्ट्रिय राजनीतिमा संलग्न हुन्छन् र सदस्य देशहरूभन्दा माथि आफूलाई थोप्न खोज्छन् ।”
डब्लुएचओले अर्जेन्टिनामा काम गर्छ । तथापि एडोर्नीले अर्जेन्टिनाले स्वास्थ्य व्यवस्थापनका लागि डब्लुएचओबाट वित्तीय सहयोग प्राप्त नगरेको बताए । यसअघि जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो दिन विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट संयुक्त राज्यलाई फिर्ता लिने योजना घोषणा गरेका थिए ।