विष्णु पौडेलको गढ बुटवलमा जब कांग्रेसको झण्डा फहरियो

बुटवल । बुटवल उपमहानगरपालिकामा साढे दुई दशकपछि एमालेको विरासत अन्त्य भएको छ । यस उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्‍डेय ३० हजार १३० मतसहित विजयी भए । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एमाले) उम्मेदवार बाबुराम भट्टराई भन्दा ७ हजार ५३३ मत धेरै ल्याए । उपप्रमुखमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)की उम्मेदवार सावित्रादेवी अर्याल २४,९०४ मतसहित विजयी भएकी छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का उम्मेदवार चीनबहादुर गुरुङले १६,९८० मत ल्याए । बुटवलमा ६३ हजार १७ मत खसेको थियो । कांग्रेससहितको ५ दलीय गठबन्धनको बलमा २५ वर्षपछि बुटबलमा कांग्रेसल आफ्नो झण्डा फहराउन सफल भयो । बुटवलका १९ मध्ये ११ वडा कांग्रेसले जितेको छ । एमाले ५ वडामा खुम्चिएको छ ।

स्वतन्त्र, गठबन्धनबाट रुख चिन्हमा चुनाव लडेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एक÷एक वडा जितेका छन् । २०७४ को चुनावमा प्रमुख, उपप्रमुखसहित १६ वडा एमालेले जितेको थियो । २०५४ देखि यहाँ एमाले हारेको थिएन । यो एमालेका प्रभावशाली नेता विष्णु पौडेलको क्षेत्र समेत हो ।