काठमाडौं । एमाले नेता विष्णु पौडेलको क्षेत्रमा गठबन्धनका उम्मेदवारको उम्मेदवारी दर्ता खारेज भएको छ । रुपन्देही २ मा प्रतिनिधिसभामा उम्मेदवारी दिएका सत्ता गठबन्धनका राजु गुरुङसहित तीन जनाको उम्मेदवारी खारेज भएको निर्वाचन आयोगले जनाएको छ । गुरुङ नेकपा एकीकृत समाजवादीका उम्मेदवार हुन् । अन्य दुई भने हाम्रो नेपाली पार्टीका कमल भुसाल र हिमाल बस्यालको पनि उम्मेदवारी खारेज भएको हो ।
अब नेकपा एमालेबाट उम्मेदवार रहेका विष्णु पौडेललाई निर्वाचनमा सहज हुने आंकलन गरिएको छ । गुरुङविरुद्ध उनी अध्यक्ष रहेको नर्थ वेस्ट नेपाल इन्फ्रा प्रालिले गौतमबुद्ध विमानस्थल निर्माणको ठेक्कामा सामान आपूर्ति गरेको बेस्ट प्रोजेक्ट म्यानेजमेन्ट एण्ड सप्लायर्स प्रालिलाई तिर्नुपर्ने २ करोड ५० लाख बराबरको रकमका लागि विभिन्न मितिमा काटिएका ८ वटा चेक बाउन्स भएपछि गुरुङको कम्पनीलाई सिद्धार्थ बैंकले कालोसूचीमा राखेको पाइएको छ ।