काठमाडौं । रुपन्देही निर्वाचन क्षेत्र नं २ मा जनमुक्ति पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार केशवबहादुर थापालाई सत्ता गठबन्धन दलहरूले समर्थन गर्ने निर्णय गरेका छन् ।
सत्ता गठबन्धनमा आवद्ध दलका नेताहरूले थापालाई साझा उम्मेदवारको रुपमा प्रस्तुत गरेका छन् । गठबन्धनका शीर्ष नेताहरूको हस्ताक्षरसहित बुधबार जारी गरिएको विज्ञप्तिमा थापालाई समर्थन गर्ने निर्णय गरिएको बताइएको छ ।
सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि उक्त क्षेत्रमा गठबन्धनको तर्फबाट अरु कुनै आधिकारिक उम्मेदवार थिएनन् । नेकपा एमालेको तर्फबाट भने उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार छन् ।
सोही निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका डा. कमल भुसाल (निकोलस) को पनि उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो ।