काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीमा गएका नेपालीहरूको हितका लागि आफूले सबैभन्दा बढी ध्यान दिएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित रिटर्नी सेन्टर नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफूले सबैभन्दा बढी ध्यान वैदेशिक रोजगारीमा गएका नेपालीहरूको हित र रक्षाका लागि दिएको बताए ।
विदेशमा रहेका नेपालीहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने काम अगाडि बढाएको प्रधानमन्त्री दाहालको भनाइ छ । त्यस्तै विदेशस्थित नेपाली दूतावासहरुमा श्रमिक हेल्प डेस्कको व्यवस्था, अनलाइन माध्यमबाटै श्रम स्वीकृति लिने व्यवस्था, वैदेशिक रोजगारीका क्रममा बन्धक बनाइएका, अलपत्र परेका नेपालीहरूको उद्धारलगायतका महत्वपूर्ण कामहरू अगाडि बढाएको पनि उनले उल्लेख गरे ।
प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीका क्रममा अंगभंग वा मृत्यु भएका नागरिकका परिवारका लागि शिक्षा र स्वास्थ्यमा राज्यले अभिभावकीय भूमिका खेल्ने बताए ।
उनले भारत र तेस्रो मुलुकबाट वैदेशिक रोजगारीमा गएका नेपालीहरूले भोग्दै आएका समस्या र दुःख, कष्टको सहजीकरण र सम्बोधन गर्न सरकार गम्भीर रूपले लागिरहेको जानकारी गराए । प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणको सन्दर्भमा उल्टोपाल्टो पारेर भ्रम फैलाउन लागिएको भन्दै सचेत हुन आग्रहसमेत गरे । उनले जसले देशमा राजनीतिक परिवर्तन ल्यायो उसले मात्रै देशलाई एकताबद्ध गर्न सक्ने बताए ।
‘जुन शक्ति र विचारले यति ठूलो परिवर्तन नेपालमा सम्भव तुल्यायो । अब त्यही विचार, त्यही प्रवृत्ति र शक्तिले मात्रै राष्ट्रलाई एकताबद्ध गर्न सक्छ । आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नसक्छ । नयाँ योजना र भिजनसहित देशलाई लानसक्छ भन्नेकुरा हामीले साबित गर्न सकेनौँ भने देश दुर्घटनामा पर्ने खतरा छ,’ उनले भने । उनले वैदेशिक रोजगारीबाट नेपाल फर्किएकाहरुका लागि सबै स्थानीय तहमार्फत अवसरहरूको सिर्जना गरिने बताए ।