वैदेशिक रोजगारीमा जानेले प्राथमिकताका आधारमा खोप पाउने

Reuters

काठमाडौं । गन्तब्य मुलुकमा खोप अनिवार्य भएसँगै नेपालबाट वैदेशिक रोजगारीमा जाने जागरिक प्रभावित भएका थिए । अब भने सरकारले वैदेशिक रोजगारीमा जानेलाई प्राथमिकताका आधारमा खोप लगाउने भएको छ । मंगलबार देशभर खोप अभियान शुरु हुँदैछ । मंगलबारबाट चीनबाट खरीद गरेको भेरोसेल खोप दिन लागिएको हो ।

यो प्राथमिकतामावैदेशिक रोजगारीमा जाने नेपाली समेत परेका हुन् । खोप अनिवार्य गरेका देशमा जाने नेपालीहरूलाई भोलिदेखि चीनबाट ल्याइएको भेरोसेल खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । मन्त्रालयका अनुसार वैदेशिक रोजगारीमा जाने नेपालीलाई पासपोर्ट र भिसाको आधारमा खोप लाइनेछ ।

सरकारले चीनबाट ल्याएको भेरोसेल खोप लगाउन शुरु गर्ने बताएको छ । मन्त्रालयका अनुसार भेरोसेल ५५ वर्ष र त्योभन्दा माथिका उमेर समूहका सबैलाई वितरण गरिने छ । विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरू, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक र नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्नहरूलाई पनि भेरोसेल खोप दिइने भएको छ ।


खोप लगाउन जाँदा आधिकारिक प्रमाण नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाण पत्र, शैक्षिक प्रमाण पत्र वा पालिका, वडाबाट उमेर प्रमाणित कागजात लैजानुपर्ने मन्त्रालयले जनाएको छ । सार्वजनिक यातायातका चालक, सहचालकहरूलाई आधिकारिक परिचय पत्र र सवारी साधनसहित व्यवसायी सङ्घबाट तथ्यगत विवरण माग गरी प्रमुख जिल्ला अधिकारीबाट प्रमाणित सूचीको आधारमा खोप दिइने छ ।

शिक्षक तथा कर्मचारीहरूले संस्थाको आधिकारिक परिचय पत्रको आधारमा खोप पाउने छन् । खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरूले पासपोर्ट र भिसाको आधारमा खोप पाउने मन्त्रालयले जनाएको छ ।