काठमाडौं । वैदेशिक रोजगारमा जाँदा ज्यान गुमाएका व्यक्तिहरूको मृत्यु हुँदा पाउने बिमा रकम ठगी गर्ने घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिमा कम्पनीमा कार्यरत जुनियर अधिकृतलाई पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले जानकारी दिए। पक्राउ पर्नेमा सूर्यज्योति जीवन बिमामा कार्यरत जुनियर अधिकृत ३० वर्षीय उमेश बुढाथोकी छन्। यसअघि प्रहरीले गत शुक्रबार ६ जनालाई सार्वजनिक गरेको थियो।
शुक्रबार नै अर्घाखाँची घर भई वैदेशिक रोजगार बोर्डमा कार्यरत नायब सुब्बा ३६ वर्षीय पशुपति अधिकारीलाई पक्राउ गरेको थियो। उनीहरूले नै गिरोहलाई मृतक परिवारको सूचना दिएको खुलेपछि प्रहरीले पक्राउ गरेको हो। यसअघि पक्राउ पर्नेमा सर्लाहीका रूद्रमान गोले, प्रकाशबहादुर गोले, रवीन्द्र मोक्तान, विनोदकुमार लामा, डिकबहादुर मल्ल र काभ्रेका रामबहादुर तामाङ छन्। आफूहरू ठगिएको भन्दै दुई जनाले प्रहरीमा उजुरी गरेपछि कार्यालयले अनुसन्धान सुरू गरेको थियो। प्रहरीले उनीहरूलाई पक्राउ गर्दा ३५ जनाको कागजात पनि बरामद गरेको थियो।
उनीहरूले पीडितलाई विमानस्थलमै भेटेर कुराकानी अघि बढाउने गरेको खुलेको थियो। त्यहाँ कुराकानी गरेर बिमा रकम सहज रूपमा उपलब्ध गराइदिने भन्दै पीडितलाई केही समय काठमाडौंको एक होटलमा राख्ने गरेका थिए। त्यस्तै १३-१४ लाख पीडितले पाउनुपर्नेमा ७-८ लाख रुपैयाँ भने आफैंले राखेर बाँकी रकम भने पीडितलाई दिने गरेका थिए। उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर टेकुमा पठाएको छ ।