शताब्दी पुरूष सत्यमोहन जोशी दम्पतीद्वारा शरीर दान गर्ने घोषणा

File

काठमाडौं । वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशी दम्पतीले मृत्युपछि शरीर दान गर्ने घोषणा गरेका छन् । चिकित्सा विज्ञान प्रयोगात्मक ज्ञानका लागि सत्यमोहन र उनकी श्रीमती राधादेवीले मृत्युपछि शरीर दान दिने घोषणा गरेका हुन् ।

उनीहरूले शुक्रबार दिउँसो ललितपुर महानगरपालिकाको प्राङ्गणमा एक कार्यक्रम गर्दै मृत्युपछि शरीर दान दिने घोषणा गरेका हुन् । सत्यमोहन १०१ वर्ष पार गरेका छन् भने राधादेवी ९७ वर्षमा प्रवेश गरेकी छन् । उक्त कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको उपस्थिति रहेको थियो ।

वि.सं १९७७ बैशाख ३० गते बखुम्बहाल, ललितपुरमा जन्मिएका जोशी नेपालका संस्कृतिविद् हुन् । उनले वि.सं २०१३, २०१७ र २०२८ मा मदन पुरस्कार पाएका छन् । उक्त पुरस्कार ३ पटक पाउने उनी एक मात्र व्यक्ति हुन् । उनले त्रिचन्द्र कलेजबाट बि.ए. सम्म अध्ययन गरेका छन् ।

नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, सम्बर्धन र विकासमा लागि परेका हुनाले उनको योगदानको कदर स्वरूप जोशीलाई सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाण्डु विश्व विद्यालयले विद्यावारिधीको मानार्थ प्रमाणपत्र प्रदान गरेको छ ।

नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको छ । उनले तीन पटकसम्म मदन पुरस्कार जित्ज सफल भएका जोशी प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथा सङ्ग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित भइसकेका छन् ।